कांग्रेस सभापति देउवा प्रधानमन्त्री पदमा नियुक्त हुँदै, पदाधिकारी बैठक बस्दै
सर्वोच्च अदालतको परमादेशअनुसार राष्ट्रपति कार्यालयले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री पदमा नियुक्ति गर्ने तयारी गरेको छ।
तर, शपथग्रहण गराउने समय भने कार्यालय समयपछि मात्रै टुङ्गो लाग्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ। सर्वोच्च अदालतले आज मंगलबार साँझ ५ बजेभित्र कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्न राष्ट्रपति र राष्ट्रपति कार्यालयको नाममा परमादेश जारी गरेको छ। सर्वोच्चको परमादेश अनुसार आजै नियुक्ति र शपथग्रहणको गराउनुपर्नेछ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले अहिलेसम्म शपथग्रहणको समय टुङ्गो नलागेको बताए।
कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले प्रधानमन्त्रीमा नियुक्त हुने सभापति देउवाको आजै शपथ हुने बताए। तर, शपथग्रहणको समय भने अहिले जानकारी नआएको उनले बताए।
प्रधानमन्त्रीमा नियुक्त हुनुअघि आजै दिउँसो २ बजे कांग्रेस पदाधिकारी बैठक बस्ने पौडेलले जानकारी दिए। दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बस्न लागेको उनले बताए।
असार २९, २०७८ मंगलबार ०७:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।