सर्वोच्चको फैसलाबारे पूर्व न्यायाधीश बलराम केसीको टिप्पणी : यो फैसला अब फैसला मात्र रहेन
'राम्रो र सकारात्मक फैसला आयो। यसलाई सबैले स्वागत गर्नुपर्छ,' उनले भने। उनले सोमबारको फैसलाले ट्र्याक बाहिर लैजान प्रयास भएको संविधान ट्र्याकमा फर्किएको बताए। सरकार छाडा भएको, राष्ट्रपतिले आफ्नो पद अनुसारको आचरण पालना नगरेर असक्षमता देखाएको उनको टिप्पणी छ।
सोमबार सर्वोच्च अदालतले विघटित प्रतिनिधि सभा पुनर्स्थापना गर्दै प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न परमादेश जारी गरेको थियो। सर्वोच्चले संविधानको ७६ को ५ अनुसार प्रधानमन्त्रीमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई अयोग्य भनेको छ।
पूर्व न्यायाधीश केसीले यसअघिका विघटन मुद्दामा झैँ यो फैसला पनि भविष्यका लागि सशक्त नजिरका रूपमा स्थापित भएको बताए।
‘मनमोहन अधिकारीको समयमा भएको विघटनको फैसला,यसअघि विघटनको फैसला झैँ यो पनि नजिर बसिसक्यो। यो फैसला अब फैसला मात्र रहेन भविष्यका लागि दस्ताबेजको रूपमा पनि रहनेछ,’उनले भने।
असार २८, २०७८ सोमबार २१:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।