कोरोना खोपको पहिलो मात्रा लगाउन बाँकी रहेका ५५ वर्षमाथिकालाई भोलिबाट भेरोसेल खोप लगाइने
स्वास्थ्य सेवा विभागले आज ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाई परिपत्र गर्दै कोरोना खोपको पहिलो मात्रा नलगाएका ५५ वर्षमाथिकालाई भेरोसेल खोप लगाउन निर्देशन दिएको छ।
परिपत्रमा विश्वविद्यालय, प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकलाई पनि भेरोसेल खोप लगाइने भएको छ।
सरकारले तोकेको अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्ति र खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई पनि भेरोसेल खोप दिइने मन्त्रालयले जनाएको छ।
त्यसैगरी ५०–५४ वर्ष उमेर समूहका कोरोना भाइरस विरुद्ध पहिलो मात्रा खोप लगाउन बाँकी सबै नागरिकलाई जोन्सोन एण्ड जोन्सोन्स (जान्सेन एडी२६कोभ२.क भ्याकिसन) दिइने विभागले जनाएको छ। त्यसैगरी पूर्ण र अति अशक्त अपांगता (वर्ग क र ख) भएको नागरिकलाई पनि जोन्सोन एण्ड जोन्सन खोप दिइने छ।
नेपालमा बसोबास गरिरहेका शरणार्थी यो खोप दिइने छ। यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीलाई पनि जोन्सोन एण्ड जोन्सनको खोप दिइने छ।
जोन्सोन एण्ड जोन्सोनको खोप लगाउन भने केही दिन लाग्ने विभागको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए। उनले भने, ‘जोन्सन त वितरण योजना गर्नै बाँकी छ। करिव ७ दिनमा त्यो पनि सुरु गर्छौं।’
यसअघि सरकारले विभिन्न चरणमा काेराेना खाेप कार्यक्रम सञ्चालन गरेकाे थियाे।
असार २८, २०७८ सोमबार १९:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।