भारतकाे जयपुरमा चट्याङ लागेर २० जनाको मृत्यु
नयाँ दिल्ली : भारतको राजस्थान राज्यको जयपुरमा चट्याङ लागेर कम्तीमा २० जनाको मृत्यु भएको छ।
तीमध्ये आमेर किल्लामा सेल्फी खिँचिरहेका ११ जना छन्। चट्याङ परेको बेला किल्ला र आसपासका स्थानमा २७ जना रहेको र तीमध्ये केहीले भुइँमा हाम फालेको बताइएको छ।
त्यहाँका एक जना वरिष्ठ प्रहरी अधिकारीका अनुसार मृत्यु हुनेमा अधिकांश युवा छन्।
यस्तै, कोटामा ४ तथा झालावाड र बारांमा १/१ जनाको चट्याङ लागेर मृत्यु भएको जयपुरका अधिकारी अन्तर सिंह नेहराले बताए। कोटामा चट्याङ लागेर ८ जना बालबालिका घाइते छन्। यसैगरी, धौलपुरमा तीन बालबालिकाको चट्याङ लागेर मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ।
यसैबीच, राजस्थानका मुख्यमन्त्री अशोक गहलौतले उक्त घटनाप्रति दुःख व्यक्त गरेका छन्।
यसअघि हिजो उत्तर प्रदेशमा चट्याङ लागेर ४२ जनाको मृत्यु भएको थियो। यस्तै, चट्याङ लागेर २३ जना घाइते भएका छन्।
बिबिसी
असार २८, २०७८ सोमबार १८:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।