एमाले स्थायी कमिटी नेपाललाई कुर्दै, नेपाल सर्वोच्चको आदेश पर्खँदै
काठमाडौँ : नेकपा एमाले स्थायी कमिटीको बैठक साँझ ५ बजे बस्ने भएको छ।
विवाद समाधान कार्यदलमा भएको १० बुँदे सम्झौता अनुमोदन गर्न बिहान ११ बजे बस्ने भनिएको बैठक साँझ ५ बजेका लागि सरेको हो।
तयारी नपुगेकाले बैठक साँझ बस्न लागेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। उनले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबिच अनौपचारिक कुराकानी भइरहेको बताए।
सहमतिबारे अध्यक्ष ओली र नेता नेपालबिच भेटवार्ता हुने समय भने निश्चित भएको छैन। ‘सहमति भइसक्यो, उहाँहरूबिच अनौपचारिक कुराकानी भइरहेको छ,’सचिव तामाङले भने,‘भेटवार्ता पनि हुन्छ।’
सहमतिमा वरिष्ठ नेता नेपालले असन्तुष्टि जनाएका छन्। सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभाव पार्ने गरी सहमतिको व्याख्या भएको भन्दै नेता नेपालले गलत भएको भनेका छन्। सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा नेपाल पक्षका २३ सांसदले हस्ताक्षर गरेका छन्।
सहमतिसँगै हस्ताक्षर फिर्ता भएको ओली पक्षले व्याख्या गरेपछि नेपालले त्यसलाई अस्वीकार गरेका छन्। सर्वोच्च अदालतको संवैधानिक इजलासमा विघटनविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।
सर्वोच्चको फैसला आएपछि मात्रै पार्टी विवादबारे निष्कर्षमा पुग्न सकिने नेपाल पक्षका नेताहरूले बताएका छन्। नेतृ रामकुमारी झाँक्रीले सहमतिबारे नेपाल समूहको केन्द्रीय कमिटीको बैठक बसेर धारणा सार्वजनिक गर्ने बताएकी छन्। उनले हस्ताक्षर फिर्ता नहुने पनि उल्लेख गरेकी छन्।
असार २८, २०७८ सोमबार १२:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।