ओली–नेपालको सहमति नलिई एमाले कार्यदलमा १० बुँदे समझदारी 

ओली–नेपालको सहमति नलिई एमाले कार्यदलमा १० बुँदे समझदारी 

समझदारीपत्रमा पार्टीका अन्तरविरोधलाई पार्टीभित्रै विधिसम्मत ढंगले समाधान गर्दै अघि बढ्ने, पार्टीका सबै तहका कमिटी, निकाय र जनसंगठनहरू नवौं राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशा र विधानको व्यवस्थाबमोजिम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन हुनुपूर्व २०७५ जेठ २ गतेको (जेठ ३ गतेको केन्द्रीय कमिटीमा सदस्य मनोनयन गर्ने निर्णयसहित) संगठनात्मक अवस्थाबाट क्रियाशील हुने, २०७७ फागुन २३ गते सर्वाेच्च अदालतको फैसलाबाट नेकपा (एमाले) पुनर्जीवित भएपछिका पार्टीको वैधानिक व्यवस्था तथा एकतासँग मेल नखाने कुनै पनि तर्फका राजनीतिक र संगठनात्मक काम कार्यवाही स्वतः बदर हुने उल्लेख छ। 

यस्तै, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा रहँदा स्थायी कमिटी र केन्द्रीय कमिटीमा रहनुभएकालाई सोही कमिटीको सदस्यको जिम्मेवारी दिने र अन्य नेतालाई नेकपामा रहँदा सरको कमिटीमा संगठित गरिने, पार्टीमा महत्त्वपूर्ण योगदान दिने नेतालाई मौजुदा केन्द्रीय कमिटीको कूल सदस्य संख्याको १० प्रतिशतमा नबढ्ने गरी उक्त कमिटीमा मनोनित गरिने, प्रतिनिधिसभाको विघटनसम्बन्धी सर्वाेच्च अदालतमा विचाराधीन मुद्दा र सरकारका सम्बन्धमा पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत एवं संस्थागत निर्णय अनुरूप अघि बढ्ने, पार्टी तथा जनसंगठन पूर्ववत अवस्थामा क्रियाशील हुने क्रममा उत्पन्न हुनसक्ने समस्याको निराकरण गर्न र सदस्यता नवीकरण, महाधिवेशन तथा विभिन्न तहका अधिवेशनका सम्बन्धमा सुझाव दिन कार्यदल गठन गरिने सहमतिमा उल्लेख छ। 

यसैगरी, यी निर्णय आवश्यकता अनुसार अनुमोदनका लागि यथाशीघ्र विधान महाधिवेशन आयोजना गरी प्रस्तुत गरिने, पार्टी, संसदीय दल र जनसंगठनहरूलाई विधि र पद्धतिसम्मत किसिमले उच्च समझदारीका साथ सञ्चालन गर्दै एकता, क्रियाशीलता र मर्यादाको अभिवृद्धि गरिने तथा यसका लागि एकतावद्ध भई आ–आफ्नो स्थानबाट सक्रियतापूर्वक योगदान गर्न पार्टी पंक्तिलाई आह्वान गर्ने र कार्यदलको सिफारिस कार्यान्वयनका लागि तत्काल पार्टी स्थायी कमिटीको बैठक आयोजना गर्न अध्यक्ष एवं महासचिवलाई अनुरोध गर्ने कार्यदलले निर्णय गरेको छ। 

सहमतिपत्रमा पार्टीको एकताको रक्षा, विकास र सुदृढीकरणका लागि यी निर्णय गरिएको उल्लेख छ।

कार्यदलले १० बुँदे सहमति गर्दा पनि अध्यक्ष ओली र वरिष्ठ नेता नेपालको सहमति नलिएको स्राेतले जनाएको छ। 

एमालेको आन्तरिक विवाद समाधानका लागि गत सोमबार ओली र नेपाल पक्षका पाँच–पाँच जनाको कार्यदल गठन गरिएको थियो। कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल तथा नेपाल पक्षबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त रहेका थिए। 

असार २७, २०७८ आइतबार २३:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।