कोरोना संक्रमणबाट विदेशमा थप १२ नेपालीको मृत्यु
गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार पछिल्लो चार सातामा साउदी अरबमा कोरोना भाइरस संक्रमणका कारण १२ जना नेपालीको मृत्यु भएको हो। उक्त अवधिमा अष्ट्रेलिया, साउदी अबर, भारत लगायत देशमा रहेका नेपालीमा कोरोना संक्रमण भएको एनआरएनएले जनाएको छ।
एनआरएनएको तथ्यांक अनुसार हालसम्म भारतसहित विश्वका २८ मुलुकमा रहेका ४ सय ४७ जना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
एनआरएन अन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशका ५४ देशमा १ लाख १६ हजार ६० जना नेपालीमा कोरोना संक्रमण देखिएको छ। तीमध्ये १ लाख ११ हजार ४७ जना कोरोनामुक्त भएका छन्।
समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार गत शनिबार साँझसम्म विदेशमा ९५ प्रतिशत नेपाली कोरोना संक्रमणमुक्त भएका छन्।
एनआरएनएले विदेशस्थित नेपाली समुदाय, विदेशमा कार्यरत नेपाली चिकित्सक, नेपाली नियोग, संघसंस्था र संघका शाखाद्वारा प्राप्त सूचनाका आधारमा तथ्यांक संकलन गर्ने गरेको छ।
असार २७, २०७८ आइतबार २२:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।