भारतीय नागरिकलाई नेपाली नागरिकता बनाइदिएको आरोपमा वडा अध्यक्षसहित ८ जना पक्राउ 

भारतीय नागरिकलाई नेपाली नागरिकता बनाइदिएको आरोपमा वडा अध्यक्षसहित ८ जना पक्राउ 

गैँडाकोट : भारतीय नागरिकलाई नक्कली नागरिकता बनाइदिएको आरोपमा इलाका प्रहरी कार्यालय गैँडाकोटले वडा अध्यक्षसहित ८ जनालाई पक्राउ गरेको छ।

भारतीय नागरिक जमिर देवनलाई गैँडाकोट नगरपालिका वडा नम्बर ६ बस्ने स्थानीय जमिर मिया हुन भन्दै नक्कली सिफारिसको आधारमा नागरिकता बनाइदिएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले बताइन्। 

पक्राउ पर्नेमा ३३ वर्षीय भारतीय नागरिक जमिर देवन, नक्कली बाबु बनेका ५२ वर्षीय सफि अल्ला मिया, वडा अध्यक्ष लक्ष्मीप्रसाद सापकोटा, वडा सदस्य पवित्रा सापकोटा र चार जना साक्षीहरू रहेको प्रहरी निरीक्षक खनालले बताइन्।  

गैँडाकोट नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले २०७७ चैत १ गते पहिचान बिनै वंशजका आधारमा नागरिकता बनाउन झुटो विवरण पेस गरी नक्कली सिफारिस बनाइदिएका थिए। 

नागरिकता बनाइदिन नक्कली बाबु बनेका ५२ वर्षीय सफि अल्ला मियाको भने अर्घाखाँचीबाट नागरिकता बनेको देखिन्छ। भारतीय नागरिक देवन आफ्नै छोरा हो। 

नागरिकतामा उल्लेख आमा भनिने ममिता खातुनले सानैमा छोडेर गएको भनी झुटो विवरण पेस गरी मियाले नागरिकता बनाइदिएका थिए।

उनीहरूले भारतीय नागरिकलाई नागरिकता प्रमाणपत्र दिलाउन सफि अल्ला मिया बुबा र श्रीमतीले बच्चा जन्माएपछि सानैमा छोडेर गएकी भन्दै ममिता खातुनलाई आमा बनाएर झुटो विवरण पेस गरी कीर्ते गरेको खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।

नक्कली बुबा आमाको नाता कायम गरी वडाध्यक्ष सापकोटाले जन्म दर्ताको प्रमाणपत्र समेतको सिफारिस लिई वंशजको आधारमा मिति २०७७ चैत ८ मा जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट पुस्ता पूर्वबाट नेपाली नागरिकताको प्रमाणपत्र बनाइदिएका थिए ।

जन्म दर्ता बनाएको १५ दिन भित्रै नागरिकता बनेको देखिन्छ। आरोपी देवनका जेठानले पनि उनी भारतीय नागरिक भएको स्वीकार गरेका छन्। 

असार २७, २०७८ आइतबार १५:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।