जसपा खारेजको माग राख्दै सर्वोच्चमा रिट,बुधवारलाई पेशी 

जसपा खारेजको माग राख्दै सर्वोच्चमा रिट,बुधवारलाई पेशी 

काठमाडौँ : विभाजनको डिलमै पुगेको जनता समाजवादी पार्टी(जसपा) को एकता प्रक्रियामै त्रुटि रहेको दाबी गर्दै एकता नै खारेजीको माग सहित सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

अधिवक्ता राजकुमार थापाले दुई पार्टी मिलेर बनेको जसपाको एकता प्रक्रिया नै त्रुटिपूर्ण रहेको दाबी गर्दै रिट दायर गरेका हुन्। रिटको बुधवारलाई पेशी तोकिएको अधिवक्ता थापाले उकेरालाई जानकारी दिए।

औपचारिक विभाजनको पर्खाइमा रहेको जसपाको विवाद निर्वाचन आयोगमा विचाराधीन छ। जसपाका अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरले एक हुने अवस्था नरहेको भन्दै आयोगलाई आधिकारिकता टुङ्गो लगाइदिन आग्रह गरिसकेका छन्।

विवादको टुंगो लगाउन आयोगले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको संयोजकत्वमा इजलास गठन गरी प्रक्रिया थालेको छ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आयोगले साउन ३ गतेलाई इजलास राखी दुवै पक्षलाई बहसमा बोलाएको छ।

आयोग दुवै समूहमध्ये को चैँ आधिकारिक भन्ने टुङ्ग्याउन कानुनी प्रक्रिया अगाडि बढाएकै बेला उता सर्वोच्चमा भने रिट परेको छ। पार्टी विवादमा यादव समूह बलियो देखिन्छ।

असार २७, २०७८ आइतबार १४:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।