एमाले कार्यदलको बैठक आज, ‘सहमति’ हुने दाबी
काठमाडौं : नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक आज बस्दैछ।
आजको बैठकबाट शुक्रबार भएको भनिएको सहमतिले अन्तिम रूप पाउने नेताहरूले बताएका छन्। यसअघि हिजो ‘सहमति’ले अन्तिम रूप पाउने बताइएको थियो।
हिजोको बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यदल सदस्य एवं नेता गोकर्ण विष्टले कार्यदल आइतबार सार्थक निष्कर्षमा पुग्ने दाबी गरेका थिए।
एमालेमा अध्यक्ष केपी शर्मा ओली र नेपाल पक्षबीचको विवाद समाधानका लागि यही असार २१ गते दुवै पक्षबाट पाँच-पाँच सदस्यीय कार्यदल गठन गरिएको थियो। उक्त कार्यदलले सोही दिनदेखि नै पार्टी एकताको लागि अनौपचारिक र औपचारिक छलफल गरेको थियो।
कार्यदलमा ओली पक्षबाट नेम्वाङसहित विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन्। यस्तै, नेपाल पक्षबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त कार्यदलमा छन्।
असार २७, २०७८ आइतबार ०८:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।