एमाले कार्यदलको ‘सहमति’ले अन्तिम रुप पाएन, भोलि निष्कर्षमा पुग्ने दाबी
काठमाडौं : नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको शुक्रबार भएको भनिएको सहमतिले अन्तिम रूप पाउन सकेको छैन।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शनिबार बसेको कार्यदल बैठकले उक्त ‘सहमति’लाई अन्तिम रूप पाउन नसकेको हो।
त्यसअघि शुक्रबार बसेको कार्यदल बैठकमा भएको ‘सहमति’लाई शनिबार अन्तिम रूप दिने नेताले बताएका थिए।
शनिबारको बैठकपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यदल सदस्य एवं नेता गोकर्ण विष्टले भोलि सार्थक निष्कर्षमा पुग्ने गरी शनिबारको बैठक सकिएको बताए।
‘हामी विगत केही दिनदेखि पार्टी एकताको लागि अनौपचारिक र औपचारिकरूपमा लागिरहेका छौं। पार्टी एकताका समस्या के थिए भन्नेमा लागिरहेका छौं। अन्तिम समयमा आइपुगेका छौं। समस्याको समाधान खोज्ने क्रममा छौं। आज त्यो घोषणा गर्न सकिरहेका छैनौं। भोलिको दिन एकताको निष्कर्ष सुन्ने दिन हुनेछ,’ उनले भने।
पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षबाट कार्यदलमा रहेका नेता सुवास नेम्वाङले पनि भोलि कार्यदलमा सहमति हुने दाबी गरे।
कार्यदलमा ओली पक्षबाट नेम्वाङसहित विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन्। यस्तै, नेपाल पक्षबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त कार्यदलमा छन्।
असार २६, २०७८ शनिबार २२:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।