महाधिवेशनको जिम्मा क्रियाशील सदस्यता छानबिन समितिको काँधमा : वरिष्ठ नेता पौडेल
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशन गराउने जिम्मा क्रियाशील सदस्यता छानबिन समितिको काँधमा रहेको बताएका छन्।
क्रियाशील सदस्यता छानबिन समितिको कार्यालयमा पुगेर क्रियाशील छानबिन समितिले गरिरहेको कामका बारेमा जानकारी लिँदै उनले यस्तो बताएका हुन्।
क्रियाशील सदस्यता छानबिन समितिले काम गरिरहेको तिलगंगास्थित नेपाल भारत मैत्री धर्मशाला पुगेर पौडेलले क्रियाशील छानबिन समितिले गरिरहेको कामका बारेमा जानकारी लिएका थिए।
पौडेलले क्रियाशील सदस्यता छानबिन समितिले गरेको काम प्रशंसनीय भएको भन्दै समयमा नै टुंगो लगाउन निर्देशन दिएको क्रियाशील छानबिन समितिका प्रवक्ता प्रदीप पौडेलले जानकारी दिए।
वरिष्ठ नेता पौडेलले तोकिएको समयमा पार्टीको १४ औं महाधिवेशन गराउन जिम्मा क्रियाशील सदस्यता छानबिन समितिको काँधमा रहेको बताएको उनले जानकारी दिए।
उनले सदस्यताको विषय छिटो टुंगिए मात्र महाधिवेशन समयमै हुने सम्भावना रहेको र सदस्यताको विषय टुंगिन ढिला भए महाधिवेशन अनिश्चित हुने बताए।
महाधिवेशनको पूर्वसर्तको रूपमा रहेको क्रियाशील सदस्यता वितरणको काम विभिन्न बहानामा ढिलाइ हुँदै आएको छ। सदस्यता वितरणको काममा ढिलाइ हुँदा महाधिवेशनको कार्यतालिका प्रभावित हुँदै आएको छ।
सदस्यता वितरणका सम्बन्धमा पार्टी सभापति देउवा पक्षले मनोमानी गर्दै आएको पौडेल पक्षले शंका गर्दै आएको थियो। यही अवस्थामा वरिष्ठ नेता पौडेलले क्रियाशील छानबिन समितिको कामबारे जानकारी लिएका हुन्।
असार २६, २०७८ शनिबार १७:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।