पेन्सिलभेनियामा आविष्कार केन्द्रलाई जुट्यो ४५ लाख

पेन्सिलभेनियामा आविष्कार केन्द्रलाई जुट्यो ४५ लाख

स्थानीय सामाजिक सङ्घ–संस्था र पेन्सिलभेनियावासी नेपालीको सक्रियतामा आयोजित दुई कार्यक्रममा करिब ३८ हजार अमेरिकी डलर (करिब ४५ लाख रुपैयाँ) सङ्कलन भएको थियो। ब्रुक मेडो फर्म ह्यारिसवर्गमा आयोजित कार्यक्रममा २२ हजार पाँच सय १० डलर तथा एक्सटनमा आयोजित कार्यक्रममा १५ हजार सात सय ६८ सङ्कलन भएको हो। बुद्धिराज कालाखेती र डा.केशव भण्डारीले संयोजन गरेको एक्सटनमा आयोजित कार्यक्रममा पेन्सिलभेनिया नेप्लीज गुठी एसोसिएसन र डेलाभर भ्याली नेपाली पाठशाला लगायतका स्थानीय सङ्घ संस्थाले सहयोग गरेका थिए। एसोसिएसनको तर्फबाट सात हजार चार सय ३८ तथा पाठशालाको तर्फबाट एक हजार पाँच सय ५० समेत कार्यक्रममा जम्मा १५ हजार सात सय ६८ डलर सङ्कलन भएको थियो । आविष्कार केन्द्रका संस्थापक डा.महावीर पुनले केन्द्रको अभियानमा सघाउन तयार सम्पूर्ण दाताहरूलाई धन्यवाद दिएका थिए। डा सुनिल नेपाल, डा वर्षा मोक्तान रायमाझी, कार्यक्रम संयोजक कालाखेतिले सम्बोधन गरेका थिए। ह्यारिसवर्गमा आयोजित कार्यक्रममा डा पुनले नेपालमा कोभिड जोखिम नियन्त्रणमा आविष्कार केन्द्रले गरेका गतिविधि, निर्वाह गरेको भूमिका र केन्द्रको भावी कार्य योजना लगायतका विषय जानकारी गराएका थिए। 'पैसा सङ्कलनमा भन्दा ठोस तथा उचित कार्य योजना निर्माणमा चुनौती छ, उनले ठट्यौली शैलीमा भने,' त्यसका लागि काम गर्नु छ।' भेषराज खत्री संयोजक रहेको सो कार्यक्रममा यदु बन्जाराले पुनको कामबारे जानकारी दिएका थिए। कार्यक्रमका लागि निःशुल्क हल समेत उपलब्ध गराउने व्रुक मेडो फर्मले आविष्कार केन्द्रलाई सबैभन्दा बढी पाँच हजार एक डलर तथा एनआरएन पेन्सिलभेनिया च्याप्टर टिमले तीन हजार डलर सहयोग गरेको थियो। राज्यका दुवै स्थानमा आयोजना गरिएका कार्यक्रममा नेपालीहरूको उल्लेख्य उपस्थिति थियो। सहभागीहरूले डा पुनको अभियानमा भविष्यमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। आविष्कार केन्द्रको सहयोगार्थ अमेरिकाको विभिन्न राज्यका नेपालीहरूको अनुरोधमा आयोजना गरिएका विभिन्न कार्यक्रममा डा पुन सहभागी हुँदै आएका छन्। उनले अध्ययन गरेको युनिभर्सिटी अफ नेव्रास्काका पूर्व प्राध्यापक तथा डा पुनद्वा्वारा स्थापित हिमाञ्चल फाउन्डेसनका सहयोगी डा स्कोभको निधनपछि आयोजना गरिएको अन्तिम श्रद्धाञ्जली सभामा सहभागी हुन उनी गत मे २३ मा अमेरिका आएका थिए। केन्द्रका नाममा सङ्कलित रकम सोसाइटी अफ अमेरिकन नेप्लिज नर्सेस नामक संथामार्फत केन्द्रलाई हस्तान्तरण गरिने छ।

असार २६, २०७८ शनिबार १०:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।