एमाले कार्यदलको बैठक फेरि स्थगित, १० दिनदेखि खास प्रगति हुन नसकेकाे भुसालकाे खुलासा

एमाले कार्यदलको बैठक फेरि स्थगित, १० दिनदेखि खास प्रगति हुन नसकेकाे भुसालकाे खुलासा

आज साँझ सिंहदरबारमा केहीबेर बसेर बैठक स्थगित भएको हो। यसअघि आज बिहानको बैठक पनि केहीबेर बसेर स्थगित भएको थियो। 

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहतर्फका कार्यदल सदस्य घनश्याम भुसालले १० दिनयता खास प्रगति हुन नसकेको बताए। 

‘हामीले १० दिनअगाडि अनौपचारिक रूपमा केही एजेन्डा तय गरेका थियौं। तर, विभिन्न कारणले गएको १० दिनदेखि हामीले खास, ठोस र मूर्त प्रगति गर्न सकेका छैनौं,’ उनले भने। 

उनले बैठक भोलि बिहान साढे ११ बजेका लागि सारिएको जानकारी दिए। ‘आज बिहान बसेका थियौं। त्यसबाट साँझ सार्याैं। अब भोलि बिहान साढे ११ बजे बस्ने भनिएको छ,’ भुसालले भने।

यसअघि कार्यदलका सदस्यले कार्यदलले प्रगति गरेकाे बताउँदै आएका थिए। 

पार्टी अध्यक्ष केपी शर्मा ओलीतर्फका कार्यदल सदस्य सुवास नेम्वाङले पनि कार्यदल टुंगोमा नपुगेको बताए। ‘आज टुंगोमा पुगिसकेको छैन। आजसम्म जे भएको छ, भोलि बस्ने बैठकले सबै टुंगोमा पुग्छ भन्नेमा आशावादी छौं,’ नेम्वाङले भने।

एमालेको आन्तरिक विवाद मिलाउन पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल समूहतर्फबाट पाँच–पाँच सदस्यको कार्यदल गठन गरिएको छ।

असार २४, २०७८ बिहीबार २२:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।