एमाले पारा : मन्त्रीपरिषद्को बैठक बालुवाटारमा, पार्टी कार्यदलको बैठक सिंहदरबारमा
निष्क्रिय भइसकेको कार्यदल एकाएक सक्रिय भएपछि नियमित बैठक बसिरहेको छ। पार्टी कार्यालयमा बैठक कक्ष नभएको हैन। तर कार्यदलका नेताहरू बैठक बस्न सधैँ सिंहदरबारको अर्थ मन्त्रालय जान्छन्।
बिहीबार दिउसो मन्त्रालयमै कार्यदलको बैठक बसेको थियो। बेलुकाको बैठक पनि त्यही बस्यो। तर अर्थमन्त्री विष्णु पौडेल मन्त्रिपरिषद्को बैठक बस्न बालुवाटार जाँदा बैठक त्यतिकै सकियो।
कार्यदलमा एमाले अध्यक्ष केपी ओली र नेता माधव नेपालको तर्फबाट दश जना नेता छन्। थापाथलीमा रहेको कार्यालयमा दश जना बस्ने हल नभएको हैन। तर चार दिनदेखि जारी कार्यदलको बैठक एक पटक पनि पार्टी कार्यालयमा बसेको छैन। हरेक बैठक अर्थ मन्त्रालयमा बस्ने गरेको छ। बैठकका लागि सहजीकरण गरिरहेका छन् अर्थमन्त्री विष्णु पौडेलले।

मन्त्रालयस्रोतका अनुसार बैठकमा सहभागी नेताहरूका खाजा लगायतका सबै खर्च अर्थ मन्त्रालयले नै व्यहोर्ने गरेको छ। एमाले कार्यदलको बैठक बस्दा हुने खर्च कसले व्यहोर्छ भन्ने उकेराको जिज्ञासामा अर्थका एक अधिकारीले भने‘उहाँहरू बैठक बस्दा चिया र खाजा दिने न हो। त्यति त तपाई आए पनि दिन्छौँ।’
नेता नेपालले बालुवाटारमा बोलाउने बैठकमा सहभागी नहुने अडान लिएपछि ओली र नेपालबिच हुने छलफल पार्टी कार्यालयमा हुनसक्छ नै। तर दुवै नेता पनि बैठकका लागि कहिले होटेल मेरियट जान्छन् त कहिले व्यापारीको घरमा। बुधवार ओली-नेपालको बैठक मेरियट होटेलमा भएको थियो। यस अगाडिको बैठक पनि सोही होटेलमा भएको थियो। बिचमा दुवै नेता सहमति जुटाउन बुढानीलकण्ठमा रहेको व्यापारी रामेश्वर थापाको घरमा पुगेका थिए।
तर मन्त्रीपरिषद् भने बालुवाटारमा
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक विरलै सिंहदरबारमा बस्छ। अधिकांश बैठकहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बस्ने गरेको छ। प्रधानमन्त्रीले सहमतिका लागि एकालेको बैठक सिंहदवारमा रहेको मन्त्रिपरिषद्को कार्यालयमै राखेका थिए। एमाले नेता नेपालसहितको सो बैठकमा ओलीसहित रामबहादुर थापा बादल पनि सहभागी थिए।
असार २४, २०७८ बिहीबार २०:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।