नेपालमा किनेको मोबाइल फोनको आइएमइआई नम्बर दर्ता गर्नुनपर्ने : दूरसञ्चार प्राधिकरण

नेपालमा किनेको मोबाइल फोनको आइएमइआई नम्बर दर्ता गर्नुनपर्ने : दूरसञ्चार प्राधिकरण

नेपालमा माेबाइल फाेन किनेका ग्राहकले आइएमइआई दर्ताका लागि सम्पर्क गर्न थालेपछि प्राधिकरणले एक सूचना जारी गर्दै व्यावसायिक हिसाबले नियमानुसार आयात भई नेपालमा खरिद भई प्रयोगमा रहेका मोबाइल सेटको पुनः आइएमइआई नम्बर दर्ता गर्नुनपर्ने जनाएको हाे।

‘धेरै मोबाइलका ग्राहकलाई प्रयोगमा रहेका आफ्नो सेटको आइएमइआई दर्ता गर्नुपर्ने हो की भनी भ्रम तथा अन्योल उत्पन्न भई प्राधिकरणमा सम्पर्क गर्ने क्रम बढेको छ । प्राधिकरणको वेबसाइटमा उपलब्ध लिंकमा दर्ता गर्ने क्रम पनि अत्यधिक वृद्धि भई उक्त प्रणालीमा प्राविधिक समस्या उत्पन्न भई दर्ता प्रक्रियामा अवरोध भएको र सञ्चालन हुन केही समय लाग्नेछ,’ सूचनामा उल्लेख छ।

साथै प्राधिकरणले नियमानुसार आयात भई प्राधिकरणमा आइएमइआई दर्ता भएका मोबाइल सेट खरिद गर्न तथा अनिवार्यरूपमा भ्याट बिल लिई अनावश्यक झन्झट एवं अन्योलबाट मुक्त हुन ग्राहकलाई अनुरोध गरेको छ।

मोबाइल सेटको गैरकानूनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी यसलाई थप व्यवस्थित गर्न साउन १ गतेदेखि मोबाइल म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू गर्न लागिएकाे प्राधिकरणले जनाएकाे छ।

 

असार २४, २०७८ बिहीबार १६:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।