सुजिता मृत्यु प्रकरणलाई निर्मलाकै मोडमा पुर्याउने प्रयास, अभियन्ताको आवरणमा अनुसन्धान मोड्न दबाब
उनीहरूको प्रदर्शनका कारण स्थानीय प्रशासनले चितवनको केही क्षेत्रमा कर्फ्यु नै लगाएको छ। अनुसन्धानका क्रममा प्रहरीले एक सयभन्दा बढिलाई सोधपुछ गरिसकेको जानकारी दिएको छ। पोस्टमार्टम रिपोर्टले मृत्युको कारण नखुलाएपछि भिसेरा रिपोर्टको प्रतीक्षामा छ प्रहरी। तर प्रदर्शनमा सहभागीहरूले निरन्तर हत्या भएको भन्दै दबाब दिइरहेका छन्।
बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तको घटनाको अनुसन्धानमा माथिल्लो तहका व्यक्तिको संलग्नतामा बलात्कार र हत्या भएको भन्दै प्रहरीलाई निरन्तर दवावदिँदा अहिलेसम्म सो घटनाको अनुसन्धान निचोडमा पुग्न सकेको छैन।
चितवनमा अहिले भइरहेको गतिविधि पनि उस्तै छ। प्रहरी अझै सो घटना अपहरणपछि हत्या हो या व्यक्तिगत सम्बन्धमा आएको चिसोपनाका कारण आत्महत्या निष्कर्मा पुगिसकेको छैन। तर अभियन्ताको नाममा चितवन पुगेकाहरूले एकतर्फी रूपमा यसलाई हत्या भएको दाबी गर्दै सोही अनुसारको माहौल बनाउन खोजेका छन्।
अहिलेसम्म सार्वजनिक भएको अनुसन्धान विवरणमा अनुसन्धान प्रभावित पार्ने र दोषीलाई जोगाउन प्रहरीमाथि कसैले दबाब दिएको खुलेको छैन। अभियन्ता भनिनेहरूले समेत ती विवरण सार्वजनिक गर्न सकेका छैनन्। उनीहरूको ध्येय घटनालाई अतिरञ्जित बनाउनमा मात्र केन्द्रित देखिन्छ। जसले अनुसन्धानमा जुटेको प्रहरीलाई अलमल्याउने काम भइरहेको छ।
आन्दोलन चर्काउन र यसलाई जवर्जस्ती रहस्यमय बनाउन चितवनमा अड्डा जमाएर बसेका यूट्युवरहरु समेत सक्रिय देखिएका छन्। पत्रकारको आवरणमा चितवनमा पुगेका उनीहरूले अनुसन्धानलाई सहजीकरण भन्दा विवादित बनाउनै जोड बल लगाएको उनीहरूले सम्प्रेषण गरेको सामाग्रीमा देखिन्छ।
९ दिनपछि जङ्गलमा भेटियो शव
असार २० गते सुजिताको शव नजिकैको सामुदायिक वनमा फेला परेको थियो। उनी असार ११ गते हराएकी थिइन्। उनी हराएको सूचना पाए लगत्तै अनुसन्धानमा खटिएको जिल्ला प्रहरी कार्यालय चितवनले पत्रकार सम्मेलनै गरेर अनुसन्धानमा अवरोध भइरहेको सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओम अधिकारीले बिहीबार पत्रकार सम्मेलन गरेर अहिलेसम्म एक सयभन्दा बढी व्यक्तिसँग सोधपुछ गरेको र केही कुरा खुलेको जानकारी दिएका थिए।
उनले अभियन्ताको नाममा जिल्ला बाहिरबाट आएर भएका प्रदर्शनले अनुसन्धानमा कठिनाइ थपेको बताउँदै भने ‘काठमाडौँमा ब्यानर प्रिन्ट गरेर, झोलामा हालेर प्लेन चढेर आउने र आएको रात कुनै गाउँमा गएर बास बस्ने र समूह खडा गरी अवरोध सिर्जना गर्ने काम भएको छ। बाह्य व्यक्तिका कारण अनुसन्धानमा असहज भएको छ।'
अनुसन्धानमा खटिनुपर्ने प्रहरी कर्फ्यु व्यवस्थापनमा खटिनु परेको भन्दै उनले भण्डारीको मृत्यु प्रकरणमा शव परीक्षण सकिएको र भिसेरा परीक्षणका लागि खुमलटार पठाइएको बताए। भिसेरा परीक्षण रिपोर्टपछि थप केही खुलाउन सकिने उनले बताए।
पोस्टमार्टमदेखि नै अवरोध
२० गते जङ्गलमा उनको शव फेला परेपछि प्रहरीले शव पोस्टमार्टमका लागि पठाउने प्रयास गरेको थियो। तर तत्काल घटनामा संलग्नको पक्राउको माग गर्दै शव उठाउनै अवरोध गरियो। निरन्तर पानीमा भिजेको शव जति चाँडो परीक्षणमा लग्यो मृत्युको कारण र शवमा रहेका प्रमाणहरू त्यति सहज खुल्न सक्थ्यो।
शव लामो समय राख्दा गलेर शरीरमा रहेका प्रमाणहरू नष्ट हुने र शरीरका अङ्ग गल्दा मृत्युको कारण खुलाउन समेत कठिन हुन्छ। प्रहरीले बल्ल बल्ल परिवारसँग सहमति गरेर शव पोस्टमार्टमका लागि पठाउन सकेको थियो। तर पोस्टमार्टममा उनको मृत्युको कारण प्रस्ट नखुलेपछि भिसेरा परीक्षण भइरहेको छ।
‘शव परीक्षणका लागि ल्याउने समयदेखि नै असहज बन्दै गएको वातावरणले काम गर्न कठिन भयो, पत्रकार सम्मेलनमा एसपी अधिकारीले भने' आफन्त अनुसन्धानका लागि तयार छन् तर बाह्य व्यक्तिले अवरोध खडा गरेका छन्।’
हत्या कि आत्महत्यामै अन्योल
प्रहरी अहिले भण्डारीको हत्या भएको हो या आत्महत्या भन्न सक्ने चरणमा पुगेको देखिएन। शव भेटिएको ठाउँ नजिकै सुजिताको मोबाइल फोन सेट भेटिएको थियो। मोबाइलमा सिम थिएन। मेमोरी कार्ड थियो।
शव नजिकै एउटा फाइबरको पुरानो झोला र सेतो झोल पदार्थ रहेको प्लास्टिकको एउटा सानो हरियो बोतल पनि फेला पारेको थियो। बोतलमा रहेको सेतो झोल धानमा लाग्ने पतेरो मार्न प्रयोग हुने विषादी भएको उनकै बाबुले जानकारी दिएको प्रहरीले जानकारी दिइसकेको छ।
प्रहरीलाई उनको परिवारले अपहरण भएको दाबी गरेको थियो। भण्डारीको हत्या वा आत्महत्या के हो भन्ने विषय खुलि नसकेको र अनुसन्धान त्यही कोणमा भइरहेको उनले बताए। शव भेटिएको स्थानमा माउन्टेन डिउको बोतलमा सेतो पदार्थ भेटिनु, अपहरणमा परेको व्यक्तिको फोनबाट विभिन्न समयमा दोहोरो कुरा हुनु र डाटा लिएर इन्टरनेटको प्रयोग भएको प्रारम्भिक अनुसन्धानमा भेटिएको उनले जानकारी दिए।
‘प्रहरीको अनुसन्धानलाई असर गर्ने खालका हल्लाको पछि नदौडनुस् । यसले घटनालाई अन्तै मोड्ने काम गर्छ,’ उनले भने । अनुसन्धान र सूचना सम्प्रेषणमा गम्भीर बन्नुपर्ने समय आएको भन्दै उनले भरपर्दो सञ्चार माध्यमको मात्र विश्वास गर्न आग्रह गरे ।
चितवन प्रहरीलाई सघाउन केन्द्रबाट केन्द्रीय अनुसन्धान ब्युरोको टोली समेत चितवन पुगेको छ।
असार २४, २०७८ बिहीबार १५:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।