पूर्वप्रधानाध्यापकसहित ३ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरेको आरोप–पत्र दायर

पूर्वप्रधानाध्यापकसहित ३ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरेको आरोप–पत्र दायर

काठमाडौं : कपिलवस्तुको भिल्मीस्थित सरस्वती आधारभूत विद्यालयका पूर्वप्रधानाध्यापक दिनेशकुमार विश्वकर्मासहित तीन जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरेको भन्दै विशेष अदालतमा आरोप पत्र दायर गरिएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयका पूर्वप्रधानाध्यापक विश्वकर्मा, विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्षद्वय शकिल मियाँ र नरेन्द्र कुर्मीविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको हो।

विद्यालयका तत्कालीन प्रधानाध्यापक विश्वकर्माविरुद्ध ३ लाख ९३ हजार ७ सय ५० रूपैयाँ बिगो र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को प्रावधानबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजायको मागदाबी गरिएको छ। 

यस्तै, तत्कालीन अध्यक्ष मियाँलाई ३ लाख ७१ हजार ७ सय १ रूपैयाँ बिगो र सोही ऐनको दफा १७ को प्रावधानबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय मागदाबी गरिएको छ। साथै तत्कालीन अध्यक्ष कुर्मीलाई २२ हजार १ सय ४९ रूपैयाँ बिगो र सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजायको मागदाबी गरिएको अख्तियारले जनाएको छ। 

 विद्यालयले आर्थिक वर्ष २०६८/०६९ देखि २०७२/०७३ सम्म जिल्ला शिक्षा कार्यालय, कपिलवस्तुबाट छात्रवृत्ति, पाठ्यपुस्तक र दिवाखाजा शीर्षकमा निकासा भई खर्च हुन नसकेको रकममध्ये विद्यालयका तत्कालीन प्रधानाध्यापक दिनेशकुमार विश्वकर्मा र विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष शकिल मियाँको कार्यकालमा ३ लाख ७१ हजार ७ सय १ रूपैयाँ र प्रधानाध्यापक दिनेशकुमार विश्वकर्मा र विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष नरेन्द्र कुर्मीको कार्यकालमा २२ हजार १ सय ४९ रूपैयाँ निकाली हिनामिना गरेको देखिएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ। 

अख्तियारले विद्यालयको हिनामिना भएको ३ लाख ९३ हजार ७ सय ५० रूपैयाँमध्ये तत्कालीन प्रधानाध्यापक विश्वकर्मा र विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष मियाँबाट ३ लाख ७१ हजार ७ सय १ रूपैयाँ तथा तत्कालीन प्रधानाध्यापक विश्वकर्मा तथा तत्कालीन अध्यक्ष नरेन्द्र कुर्मीबाट २२ हजार १ सय ४९ रूपैयाँ बिगो मागदाबी गरेको छ। 

उनीहरूविरुद्ध सरकारबाट दिइएको विभिन्न शीर्षकको अनुदान रकमलाई नीति, नियम एवं कानुनबमोजिम खर्च नगरी आफूखुसी खर्च गरेको, विद्यालयमा शिक्षक भर्ना, पि.सि.एफ. छात्रवृत्ति, पाठ्यपुस्तक, दिवाखाजा लगायतमा आएको रकम दुरुपयोग गरेको उजुरी परेको अख्तियारले जनाएको छ। 

असार २३, २०७८ बुधबार २१:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।