मन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध रूपा सुनारको रिट : अन्तरिम आदेशको लागि असार २९ मा विपक्षी झिकाउन सर्वोच्चको आदेश

मन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध रूपा सुनारको रिट : अन्तरिम आदेशको लागि असार २९ मा विपक्षी झिकाउन सर्वोच्चको आदेश

काठमाडौं : तनहुँकी रूपा सुनारले मन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले विपक्षी झिकाउने आदेश दिएको छ।

रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै असार २९ गते अन्तरिम आदेशको लागि छलफलको लागि दुवै पक्षलाई झिकाउने आदेश गरेको हो।

जातीय भेदभाव तथा छुवाछुत कार्यमा मद्दत गरेको र अनुसन्धान तथा तहकिकातमा बाधा पुर्याएको भन्दै सुनारले मन्त्री श्रेष्ठविरुद्ध असार २० गते रिट निवेदन दर्ता गरेकी थिइन।

रिटमा मन्त्री श्रेष्ठसहित जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौं, महानगरीय प्रहरी वृत्त, सिंहदरवार, काठमाडौं र काठमाडौं महानगरपालिका वडा नम्बर ११ बस्ने मुकुन्द प्रधानकी श्रीमती ५८ वर्षीया सरस्वती प्रधानलाई विपक्षी बनाइएको छ। 

थरको कारण देखाउँदै काठमाडौं बबरमहलकी घरबेटी सरस्वती प्रधानले आफ्नो घरको कोठा भाडामा नदिएपछि रूपाले उनीविरुद्ध प्रहरीमा जाहेरी दिएकी थिइन्। त्यसपछि पक्राउ परेकी घरबेटी प्रधानलाई छुटाउन मन्त्री श्रेष्ठ महानगरीय प्रहरी वृत्त, सिंहदरबार पुगेका थिए। मन्त्री श्रेष्ठले प्रधानलाई झन्डावाला गाडीमा हालेर घरसम्म पुर्याएका थिए। 

रिटमा मन्त्री श्रेष्ठले अभियुक्तलाई हिरासत मुक्त गर्ने तथा फौजदारी न्यायको सिद्धान्तविपरीत सरकारी साक्षीको रूपमा पीडितको संरक्षण गर्नुको साटो झन् हतोत्साही गर्ने कार्य गरेकाले उनलाई पदबाट बर्खास्त गरी कारबाही गर्न अन्तरिम आदेश माग गरिएको थियो।

असार २३, २०७८ बुधबार १७:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।