चितवनको राप्ती नगरकाे राजमार्ग क्षेत्रमा भोलि बेलुका साढे ७ बजेसम्म लगाइयाे कर्फ्यु

चितवनको राप्ती नगरकाे राजमार्ग क्षेत्रमा भोलि बेलुका साढे ७ बजेसम्म लगाइयाे कर्फ्यु

काठमाडौं : राप्ती नगरपालिका–३ कि २३ वर्षीया सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर राजमार्ग अवरुद्ध, तोडफोड, आगजनीलगायत घटना हुन सक्ने भन्दै चितवनको राप्ती नगरपालिकाकाे पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा कर्फ्यु लगाइएको छ।

चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क (१) बमोजिम पूर्व पश्चिम राजमार्गको राप्ती नगरपालिका–१ लोथरपुलदेखि राप्ती नगरपालिका–४ डढुवासम्मको राजमार्गको दाँया बाँया ५०० मिटर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेका छन्।

मंगलबार बेलुका साढे ७ बजेदेखि बुधबार बेलुका साढे ७ बजेसम्म कर्फ्यु जारी गरिएको प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेशमा उल्लेख छ। कर्फ्यु अवधिमा लामो दूरीका सवारी साधन चल्न दिइने छ। तर, मानिस आवतजावत र भेला हुन रोक लगाइएको छ।

आदेश अवज्ञा गर्नेलाई सुरक्षाकर्मीले गिरफ्तार गरी एक महिनासम्म कैद वा जरिवाना वा दुवै सजाय हुने आदेशमा उल्लेख छ। 

असार २२, २०७८ मंगलबार २३:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।