जसपा विवाद : मिल्न भनेर गएका, फुट्ने सहमति गरेर फर्के
दुवै पक्ष फुट्नका लागि सहमत भएपछि आयोगले दल दर्तासम्बन्धी ऐनअनुसार दाबी लिएर आउन भनेको छ।
जसपाको उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्षले अब आयोगलाई आधिकारिकताका लागि दाबी पेस गर्ने छन्। आयोगले दुवै पक्षले एकताको साटो फुटेर आ आफ्नो बाटोमा लाग्ने सहमति गरेकाले विवाद समाधानका लागि इजलास गठन गर्नेछ।
आयोगले जसपाको विवाद अब न्यायिक प्रक्रियाबाट टुङ्गो लगाउन दुवै पक्षलाई हस्ताक्षर गराएको छ। इजलास गठनका लागि आयोगले सूचना दिनेछ।
बाबुराम भट्टराई र उपेन्द्र यादवको समाजवादी पार्टी नेपाल र महन्थ ठाकुर, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय जनता पार्टी नेपालबिच एकीकरण भएर जनता समाजवादी पार्टी गठन भएको थियो।
राजनीतिक दलसम्बन्धी ऐनबमोजिम कुनै पनि दल विभाजन गर्न उक्त दलको कम्तीमा ४० प्रतिशत केन्द्रीय समितिको सदस्य तथा ४० प्रतिशत सङ्घीय संसद् सदस्य आवश्यक पर्छ। जसपाको सङ्घीय संसदमा ३२ सांसद छन् भने केन्द्रीय कार्यकारिणी समितिमा ५१ जना सदस्य कायम छन्।
महन्थ पक्षले २०७७ पुस ७ गते बसेको कार्यकारिणी समितिको बैठकले दिएको अधिकार अनुसार कार्यकारिणी समिति हेरफेर गरेको दाबी गरेको थियो। यसमा उपेन्द्र यादव पक्ष सहमत नभएकाले पार्टी फुटको बाटोमा अग्रसर भएको हो।
अब आयोगले इजलास गठन गर्ने र सुनुवाइको प्रक्रिया सुरु गरेर विवाद समाधान गर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए। उनले आयोगले छिट्टै इजलास गठन गर्ने बताए।
असार २२, २०७८ मंगलबार १४:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।