गल्दै गए ओली : माधव समूहलाई एमाले रहन दिन्न भनेर धम्क्याए, तर कार्यदल ब्युँताए

गल्दै गए ओली : माधव समूहलाई एमाले रहन दिन्न भनेर धम्क्याए, तर कार्यदल ब्युँताए

उनको चेतावनी थियो' सोमबार बेलुका पाँच बजेसम्ममा हस्ताक्षर गर्नेहरूले हस्ताक्षर फिर्ता नलिए उनीहरू एमाले रहन्नन्,' अर्को दलको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने कसरी एमाले हुन सक्छन्।'

सोमबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा संसद् विघटन र शेरबहादुर देउवाले प्रधानमन्त्रीमा गरेको दाबी नपुग्ने राष्ट्रपतिको निर्णय विरुद्ध जारी बहस टुङ्गिँदै थियो। सोमबार बहस टुङ्गियो। ओलीले दिएको समय पनि घर्कियो। तर नेपाल पक्षका निवर्तमान २३ सांसदहरूले हस्ताक्षर फिर्ता लिएनन्।

तर म्याद घर्किए पनि ‌ओली आफ्नो चेतावनी झैँ नेपाल समूहलाई एमालेबाट दीर्घकालीन रूपमा बिदाइ गर्नतिर लागेनन्। बरु एमालेमा जारी विवाद समाधान गर्न पहिल्यै गठन भएर निष्क्रिय रहेको कार्यदललाई सक्रिय गराए।

ब्युँतिएको कार्यदलले सोमबारबाटै संवाद र गृहकार्य सुरु गर्यो। सिंहदरबारमा दुवै पक्षका नेताहरू बसे। बैठक कुनै निष्कर्षमा भने पुगेन। नेताहरूले बैठक सकारात्मक भएको टिप्पणी दिए।

बैठकमा सहभागी नेपाल समूहका नेता भीम रावलले पार्टीभित्रको आन्तरिक समस्यामाथि गम्भीर विश्लेषण भएको बताए। उनका अनुसार सोमबारको बैठक निश्चित विषयवस्तुमा प्रवेश गरेन। समस्या समाधानका लागि सबैले प्रयास गर्ने विषयमा छलफल भएको थियो।

ओली- रावल भेटले खोलेको बाटो

शुक्रवार बाटै प्रधानमन्त्री ओलीले माधव नेपालसँग भेट गरेर छलफल गर्न खोजेका थिए। तर नेपालले भेट्न मानेनन्। दुबैबिच फोनमा कुराकानी भए पनि भेटेर कुरा गर्न सहमति जुटेन। ओली पेलेरै जाने नीतिमा लागे।

नेपालले बैठक रोकेर कार्यदललाई काम गर्न दिन गरेको प्रस्ताव स्वीकार गरेनन्। नेता नेपालले हस्ताक्षर फिर्ता लिन ओलीले दिएको निर्देशन मानेन। नेपाल भेट्न गएका ओली समूहका नेतालाई उनले कार्यदलकै कुरा सुनाएर पठाएका थिए।

एकाएक आइतबार राति प्रधानमन्त्री ओली र एमाले उपाध्यक्ष रावलबिच भेटवार्ता भयो। पछिल्लो समय ओली र रावलको सम्बन्ध निकै चिसिएको थियो। नेपाललाई मनाउन सक्रिय घनश्याम भुसाल सफल नभएपछि ओली सोही समूहका दोस्रो नेताको खोजीमा थिए।

ओली र नेपाल समूहका दोस्रो तहका नेताले रावल देखे। उनीहरूको प्रयासमा ‌ओली रावलसँग भेट्न तयार भएका थिए। बालुवाटारमा भएको छलफलमा कार्यदलबारे सकारात्मक वातावरण बनेपछि सोमबार बिहान रावल र नेता नेपालबिच भेट भयो।

छलफलमा पार्टी एकताबारे कार्यदलले खाका ल्याएपछि मात्रै आफू ओलीसँग भेट्न तयार रहेको बताए। त्यही सन्देश ‌ओलीकोमा पुगेपछि सोमबार एकाएक कार्यदल सक्रिय भएको थियो।

असार २१, २०७८ सोमबार २१:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।