प्रतिनिधिसभा विघटन मुद्दा हेर्दाहेर्दैमा, असार २८ गते तोकियो पेसी
काठमाडौं : सर्वाेच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको प्रतिनिधिसभा विघटन मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। उक्त मुद्दाको पेसी यही असार २८ गते तोकिएको सर्वाेच्चले जनाएको छ।
आज रिट निवेदकतर्फका ३ जनाले जवाफी बहस गरेका थिए। यस्तै, एमिकस क्युरीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू राधवलाल वैद्य, उषा मल्ल पाठक, कोमलप्रसाद घिमिरे र प्रकाशबहादुर केसीले आफ्नो राय दिएका थिए।
त्यसअघि मुद्दामा रिट निवेदकतर्फका कानुन व्यावसायी, विपक्षी राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओलीतर्फका सरकारी वकिल र कानुन व्यावसायी र अर्का विपक्षी सभामुख अग्निप्रसाद सापकोटाका तर्फका कानुन व्यावसायीले बहस गरेका थिए।
गत जेठ ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा संसद् विघटन गरेकी थिइन्। त्यसविरुद्ध विपक्षी गठबन्धनका १ सय ४६ जना सांसद्ले दायर गरेको रिट निवेदनमा सर्वाेच्चमा सुनुवाइ जारी छ।
असार २१, २०७८ सोमबार १७:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।