जो राष्ट्रपति लुरुलुरु प्रधानमन्त्रीले भनेको मान्छ, उ संसारको सबैभन्दा कमजोर राष्ट्रपति हो : वरिष्ठ अधिवक्ता थापा
काठमाडौँ : वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्रीले भनेको लुरुलुरु मान्ने राष्ट्रपति संसारको सबैभन्दा कमजोर हुने बताएका छन्।
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा जवाफी बहस गरेका थापाले भने, ‘जो राष्ट्रपति लुरुलुरु प्रधानमन्त्रीले भनेको मान्छ, उ संसारको सबैभन्दा कमजोर राष्ट्रपति हो।’
उनले सरकार गठनका लागि राष्ट्रपति समक्ष पेस गरेको कागजातको कुरा आएको भन्दै राष्ट्रपति समक्ष पेस गर्ने कागजको कुनै फर्म्याट छ? भनेर प्रश्न गरेका छन्। 'विश्वासको मत पाउने विषय राष्ट्रपतिले हेर्ने सरकार पक्षको दाबीमा उनले भने, ‘दाबीका लागि त विश्वासको मत लिन संसद् पठाउनुपर्थ्यो नि। त्यसो भए १४६ सांसदको हक अपहरण भएको कहाँ हेर्ने त?'
वरिष्ठ अधिवक्ता थापाले प्रधानमन्त्रीले विश्वासको मत पाउँदिन भनेर कागज पेस गरेपछि पदमुक्त हुनुपर्ने बताए। ‘उहाँहरू पदमुक्त हुँदैन भन्नुहुन्छ। विश्वासको मत लिन सक्दिन भनेर गएको प्रधानमन्त्रीले फेरि दाबी गर्दा राष्ट्रपतिले बडो बिचार गरेर निर्णय गर्नुपर्थ्यो,’उनले प्रश्न गरे,‘पार्लियामेन्टमा पठाउने हो कि आफै निर्णय गर्ने?
उनले विश्वासको मतमा आफू नजाने र अरूलाई पनि जान नदिने भन्दै यसले धारा ७६(२) र ७६(५) पनि मर्ने बताए। केपी ओलीले विश्वासको मत लिन वाकी रहेको भन्दै उनले विश्वास लिन बाँकी रहेको प्रधानमन्त्रीले ७५(५) अनुसार दाबी गर्न नपाउने बताए।
अधिवक्ता कृष्णप्रसाद भण्डारीले प्रतिनिधिसभा विघटन असंवैधानिक भएकाले खारेज गर्न माग गरे।
रिट निवेदकको जवाफ बहस सकिएको छ। अब अदालतको सहयोगी (एमिकस क्युरी) राय लिने काम सुरु हुन्छ। एमिकस क्युरीलाई २ घण्टाको समय दिइएको छ।
असार २१, २०७८ सोमबार १४:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।