ओलीले भेटे रावललाई, नेपाल पक्षको हस्ताक्षर फिर्ता होला? 

ओलीले भेटे रावललाई, नेपाल पक्षको हस्ताक्षर फिर्ता होला? 

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई हस्ताक्षर फिर्ता लिन दिएको अल्टिमेटम आज सकिँदै छ। एमाले केन्द्रीय कमिटीको शुक्रबार बसेको बैठकले हस्ताक्षर फिर्ता लिन सोमबार साँझ (आज) सम्मको समय दिएको थियो। 

सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको फैसला आउने बेलासम्म हस्ताक्षर फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएका ओलीले नेपालसँग भेट्न गरेको प्रयास सफल हुन सकेको छैन। 

शनिबार बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकमा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर सर्वोच्चको फैसलासम्म कायम राखे कारबाही गर्ने चेतावनी दिएका थिए। ओलीले नेपाल पक्षलाई सहमतिमा ल्याउन गरेको प्रयास सार्थक हुन सकेको छैन। 

आइतबार बेलुका प्रधानमन्त्री ओलीले उपाध्यक्ष भीम रावलसँग कुराकानी गरेका छन्। नेपाल पक्षका नेता रावलसँग बालुवाटारमै छलफल भएको ओली पक्षीय नेता सुभाषचन्द्र नेम्वाङले बताए। ‘हस्ताक्षर फिर्ता गर्नु भनेको पार्टी एक ठाउँमा हुनु पर्यो भन्ने हो,’नेम्वाङले उकेरासँग भने,‘अहिलेसम्म एक ठाउँमा उभिने सङ्केत मिलेको छैन।’ 

उनले अनौपचारिक छलफल भने भइरहेको बताए। ‘पार्टी अध्यक्षले बालुवाटारमा भीम रावलसँग छलफल गर्नु भएको छ,’ उनले भने,‘हामीले माधव नेपालको निवासमै गएर छलफल गर्यो।’ 

नेपाल पक्षका नेता सुरेन्द्र पाण्डेले अहिलेसम्म हस्ताक्षर फिर्ता लिने कुनै निर्णय नभएको बताए। ‘औपचारिक अनौपचारिक छलफल केही छैन,’उनले उकेरासँग भने,‘आज बैठक बस्ने जानकारीमा छैन।’ 

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दाको सुनुवाइ सकिनै लाग्दा ओली हस्ताक्षर फिर्ता गराउन हतारिए पनि नेपाल पक्ष हस्ताक्षर फिर्ता लिने मुडमा देखिएको छैन। 

नेपाल पक्षले अदालतको फैसला आएपछि मात्रै पार्टी एक ठाउँमा उभिने विषयमा संवाद हुने अनौपचारिक जवाफ दिएको एक नेताले बताए। ‘उहाँहरूले सर्वोच्चको फैसला कुरेर बस्नु भएको छ,’ ती नेताले भने,‘आजै (सोमबार) हस्ताक्षर फिर्ता हुने सम्भावना देखिँदैन।’ 

असार २१, २०७८ सोमबार ०८:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।