काठमाडौंमा पूर्वनिर्धारित परीक्षा सञ्चालन गर्न पाइने, यस्तो छ सर्त

काठमाडौंमा पूर्वनिर्धारित परीक्षा सञ्चालन गर्न पाइने, यस्तो छ सर्त

काठमाडौं : काठमाडौंमा पूर्वनिर्धारित परीक्षा सञ्चालन गर्न पाइने भएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली आज थप गरेको निषेधाज्ञासम्बन्धी आदेशमा असार २२ गतेदेखि पूर्वनिर्धारित परीक्षा सञ्चालन गर्न दिइने उल्लेख छ। 

यसअघि कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएपछि गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञामा परीक्षा सञ्चालनमा रोक लगाइएको थियाे। 

जारी निषेधाज्ञा भाेलि (असार २१ गते) राति सकिँदैछ। 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुली जारी गरेकाे आदेशमा परीक्षा सञ्चालनका लागि सर्तहरू तोकिएका छन्। 

- परीक्षा कोठाभित्र २५ जनाभन्दा बढी मानिस भेला नहुने गरी परीक्षा सञ्चालन गर्ने। 

- एकै दिनमा २५ जनाभन्दा बढी मानिस जम्मा हुने अवस्था भएमा सिफ्टवाइज परीक्षा सञ्चालन गरी परीक्षार्थीहरू हलमा प्रवेश गर्नुपूर्व र परीक्षा समाप्त भएपश्चात नेपाल सरकारले तोकेको मापदण्ड बमोजिम भौतिक दूरी कायम हुने व्यवस्था मिलाउने। 

- एउटा सिफ्टका सबै व्यक्तिहरू परीक्षा स्थलबाट पूर्णरूपमा बाहिरिएपछि मात्र अर्काे सिफ्टसँग सम्बन्धित व्यक्तिहरू प्रवेश गर्न मिल्ने गरी फरक समय राख्ने। 

- परीक्षा सञ्चालनको क्रममा जनस्वास्थ्यका मापदण्डहरू अनिवार्य पालना गरी मास्क तथा सेनिटाइजरको उचित प्रयोग गर्नुका साथै प्रत्येक सिफ्टमा परीक्षा हल अनिवार्यरूपमा निसंक्रमित गर्ने।

असार २०, २०७८ आइतबार २३:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।