काठमाडौं उपत्यकामा हट्यो जोरबिजोर प्रणाली, निषेधाज्ञा असार ३१ सम्म 

काठमाडौं उपत्यकामा हट्यो जोरबिजोर प्रणाली, निषेधाज्ञा असार ३१ सम्म 

काठमाडौं : काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली हटेको छ।

उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा असार ३१ गतेसम्म थप्ने र निजी तथा सार्वजनिक सवारीमा लगाइएको जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो। 

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जारी गरेको आदेशमा सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, हरेक दिन सवारी साधन निसंक्रमित गर्नुपर्ने उल्लेख छ।

यस्तै, यात्रुलाई मास्क तथा चालक र सहचाकलले मास्कका साथै भाइजर र पञ्जा पनि लगाउनुपर्ने र सवारी साधनको ढोकामा स्यानिटाइजर राख्नुपर्ने आदेशमा उल्लेख छ।

कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएको भन्दै उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको छ। यसअघि उपत्यकाका तीन वटै जिल्लाका प्रशासन कार्यलयले असार ७ देखि निजी र १५ गतेदेखि २५ सिटभन्दा माथिका बस चल्न दिने निर्णय गरेको थियो। 

असार २०, २०७८ आइतबार १९:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।