रूपा सुनारद्वारा मन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध सर्वाेच्चमा रिट दायर

रूपा सुनारद्वारा मन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध सर्वाेच्चमा रिट दायर

काठमाडौं : तनहुँकी रूपा सुनारले मन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध सर्वाेच्च अदालतमा रिट निवेदन दायर गरेकी छिन्। 

जातीय भेदभाव तथा छुवाछुत कार्यमा मद्दत गरेको र अनुसन्धान तथा तहकिकातमा बाधा पुर्याएको भन्दै सुनारले मन्त्री श्रेष्ठविरुद्ध रिट निवेदन दर्ता गरेकी हुन्। 

रिटमा मन्त्री श्रेष्ठसहित जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौं, महानगरीय प्रहरी वृत्त, सिंहदरवार, काठमाडौं र काठमाडौं महानगरपालिका वडा नम्बर ११ बस्ने मुकुन्द प्रधानकी श्रीमती ५८ वर्षीया सरस्वती प्रधानलाई विपक्षी बनाइएको छ। 

उक्त रिटको पेसी असार २१ गते तोकिएको सर्वाेच्चले जनाएको छ।

थरको कारण देखाउँदै काठमाडौं बबरमहलकी घरबेटी सरस्वती प्रधानले आफ्नो घरको कोठा भाडामा नदिएपछि रूपाले उनीविरुद्ध प्रहरीमा जाहेरी दिएकी थिइन्। त्यसपछि पक्राउ परेकी घरबेटी प्रधानलाई छुटाउन मन्त्री श्रेष्ठ महानगरीय प्रहरी वृत्त, सिंहदरबार पुगेका थिए। मन्त्री श्रेष्ठले प्रधानलाई झन्डावाला गाडीमा हालेर घरसम्म पुर्याएका थिए। 

‘नेपालको संविधानको धारा १६, १७, १८, २४, २० (९), २१ तथा धारा २८ समेतले प्रदत्त मौलिक हकको चरम उल्लंघन अभियुक्तलाई हिरासत मुक्त गर्ने तथा फौजदारी न्यायको सिद्धान्तविपरीत सरकारी साक्षीको रुपमा पीडितको संरक्षण गर्नुको साटो झन् हतोत्साही गर्ने उद्देश्यले गोपनीयताको हकको समेत बर्खिलाप हुने गरी गरेको विपक्षीको कार्यका विरुद्ध अन्य वैकल्पिक उपचारको बाटो नहुँदा संविधानको धारा १३३ (२) र (३) बमोजिमको आदेश जारी गरी पाउन यो निवेदन लिई आएकी छु। अतः माग बमोजिम आदेश गरी न्याय दिलाई पाउँ,’ रिट निवेदनमा उल्लेख छ।  

असार २०, २०७८ आइतबार १७:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।