सभामुखतर्फका बहसकर्तालाई प्रधानन्यायाधीशको प्रश्न– वैकल्पिक सरकारको विकल्प देखिएन नि ? 

सभामुखतर्फका बहसकर्तालाई प्रधानन्यायाधीशको प्रश्न– वैकल्पिक सरकारको विकल्प देखिएन नि ? 

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले अहिले वैकल्पिक सरकारको विकल्प नदेखिएको प्रश्न गरेका छन्।

सर्वाेच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको संसद् विघटन मुद्दामा सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट बहस गर्न आएका वरिष्ठ अधिवक्ता उपेन्द्र केशरी न्यापानेसामु उनले यस्तो प्रश्न गरेका हुन्। 

‘अहिले नेकपा एमालेको सरकार छ। एमालेका २६ सांसदले देउवा (नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा)को समर्थन गर्नुभएको देखिन्छ। अदालतले हिजोबाट जति पनि संसद् विघटन बारेको फैसला गरेको छ, त्यसमा पनि वैकल्पिक सरकारको विकल्प रहेसम्म भनिएको छ। तर, त्यस्तो देखिएन नि ?’

वरिष्ठ अधिवक्ता न्यापानेले जवाफ दिए, ‘अहिलेको अवस्थामा धारा ७६ (५) मा त उहाँहरू (सांसद)ले विवेक प्रयोग गर्न पाउनुहुन्छ।’ 

०००

बहसका क्रममा प्रधानन्यायाधीश जबराले प्रश्न गरे, ‘शेरबहादुर देउवा नेतृत्वको सरकार बनाउन नेकपा एमालेका २६ जनाले हस्ताक्षर गरेको देखिन्छ। यो वैकल्पिक सरकार भन्ने सिद्धान्तसँग मेल खान्छ ? अदालतको यस अघिको फैसलाले पनि वैकल्पिक सरकार बन्न सक्ने अवस्थासम्म भनेको छ।’  

वरिष्ठ अधिवक्ता न्यौपानेले जवाफ दिए, ‘यहाँ एमाले दलको निर्णय गर्न समर्थन गरिएको होइन श्रीमान्। यहाँ प्रतिनिधिसभाका सार्वभौम सदस्यको समर्थन गरेका हुन्। यदि धारा ७६ (५) मा पनि दलकै आधारमा नियुक्ति हुने हो भने त यो धाराको औचित्यै रहन्न। ७६ (३) को प्रयास असफल भएपछि ७६ (५) तिर जाँदैन फेरि ७६ (२) तिर उक्लन्छ।’

असार २०, २०७८ आइतबार १५:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।