एमाले एकताका आ-आफ्नै सर्त: नेपाल-बैठक रोक्नु, ओली- हस्ताक्षर फिर्ता
काठमाडौँ : एमाले एकताका लागि जेठ २ कै अवस्थामा पार्टी फर्काउनु पर्ने माधव नेपाल समूहको सर्त अझै पूरा भएको छैन। तर पार्टीका दुवै समूहबिच एकपछि अर्को सर्त थपिँदै छ।
महाधिवेशन आयोजक कमिटी विघटनसँगै एमालेमा केन्द्रीय कमिटीको बैठक बसिरहेको छ। बैठकमा बामदेव गौतम फर्किए। तर माधव समूह फर्किएको छैन। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल एकै ठाउँमा बसेर छलफल गर्न पनि तयार छैनन्। दुवैबिचको संवाद पनि अर्काको फोनबाट भइरहेको छ।
एमाले केन्द्रीय कमिटीले शुक्रवार प्रधानमन्त्रीमा काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने एमाले निवर्तमान सांसदको हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ।
ओली समूहले पार्टी एकताको सर्त यसैलाई बनाउँदै सोमवार साँझ ५ बजेसम्मको समय दिइसकेको छ। तर नेपाल समूह सो सर्त मान्न तयार देखिएको छैन।
सर्वोच्चमा जारी बहस संसद् पुनर्स्थापना तर्फ अगाडि बढेको र सत्ता गुम्ने भएकाले मात्र ओलीले गलेझै देखाएको नेपाल पक्षको निष्कर्ष देखिन्छ।
हस्ताक्षर फिर्ता लिएसँगै ओली बलियो हुने र पुरानै व्यवहार मा फर्कने उनीहरूको आशङ्का छ। त्यसैले नेपाल समूह हस्ताक्षर फिर्ताको सर्तमा सकारात्मक छैन।
नेपाल समूहले पार्टी एक बनाउन छलफलका लागि बनेको कार्यदलमार्फत प्याकेजमा सहमति गर्ने रणनीतिमा छ। त्यसैले नेपाल समूहले कार्यदलको बैठक राख्ने र अहिले जारी केन्द्रीय कमिटीको बैठक स्थगित गर्ने प्रस्ताव अगाडि बढाएको छ।
तर ओली तत्काल हस्ताक्षर फिर्ता नलिए सर्वोच्चबाट आदेश आउन सक्ने भएकाले बहस सकिनु अगाडि नै हस्ताक्षर फिर्ता गराएर संसद् पुनर्स्थापना र देउवा प्रधानमन्त्री हुनसक्ने जोखिम हटाउन चाहन्छन्।
शनिवार ओली आफैले नेपालसँगको संवादबारे केन्द्रीय कमिटीमा गरेको ब्रिफिङले यही देखायो। बैठकमा ओलीले नेपालसँग घनश्याम भुसालको मोबाइलबाट कुरा भएको र उनले केन्द्रीय कमिटीको बैठक रोकेर कार्यदलको बैठक अगाडि बढाउन भनेको जानकारी दिएका थिए।
हस्ताक्षरसम्बन्धी विषयमा नेपालले अदालती प्रक्रिया चल्दै जान्छ भनेको ओलीले जानकारी दिएका थिए।
'माधव नेपालले पार्टी एकताका लागि केन्द्रीय कमिटीको बैठक रोक्नुस् भने,' ओलीले भने' मैले एमाले सरकार ढाल्न, विपक्षीको सरकार बनाउन गरेको हस्ताक्षर फिर्ता लिनुस् भने।उहाँले भन्नुभयो अदालतको प्रक्रिया चल्दै जान्छ। त्यसमा नअड्किनुस् न।'
उनले एमालेलाई ढाल्ने, बैठक पनि चल्न नदिएर अस्तव्यस्त पार्ने अनि अनेक तिगडमबाट एमाले क्षतविक्षत बनाउने योजना बनेको दाबी गरे।
आजै नेपाल समूहले पनि निवर्तमान सांसदहरूसँग छलफल गरेको थियो। छलफल हस्ताक्षर फिर्ता लिने विषयमा छलफल भएको थियो। जुम मार्फत भएको छलफलमा २३ निवर्तमान सांसदहरूले हस्ताक्षर फिर्ता नलिने बताएका थिए।
असार १९, २०७८ शनिबार २०:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।