हस्ताक्षर फिर्ताको अल्टिमेटम मान्य नभएको खनाल–नेपाल पक्षको निष्कर्ष 

हस्ताक्षर फिर्ताको अल्टिमेटम मान्य नभएको खनाल–नेपाल पक्षको निष्कर्ष 

काठमाडौं : नेकपा एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका सांसदले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सर्वाेच्च अदालतमा संसद् विघटनविरुद्ध दायर गरेको मुद्दामा हस्ताक्षर फिर्ता गर्न दिएको अल्टिमेटम मान्य नभएको निष्कर्ष निकालेको छ।

खनाल–नेपाल पक्षका सांसद्को आज बसेको बैठकले उक्त निष्कर्ष निकालेको हो। 

खनाल–नेपाल पक्षका २३ सांसदसहित विपक्षी गठबन्धनका १ सय ४६ सांसदले संसद् पुनःस्थापना, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्तिको माग गर्दै सर्वाेच्चमा रिट दायर गरेका थिए। 

एमाले अध्यक्ष ओलीले गत शुक्रबार उक्त रिटमा गरिएको हस्ताक्षर सोमबारसम्म फिर्ता लिएको अल्टिमेटम दिएका थिए। 

शनिबार बसेको बैठकले उक्त अल्टिमेटमलाई अस्वीकार गर्दै कुनै पनि हालतमा हस्ताक्षर फिर्ता नलिने निर्णय गरिएको खनाल नेपाल समूहका एक नेताले जानकारी दिए। संविधान, लोकतन्त्र र संसद् जीवित राख्नका लागि गरिएको हस्ताक्षर फिर्ता नलिने ती नेताले बताए। 

बैठकमा नेता नेपालले गत शुक्रबार अध्यक्ष ओलीसँग भएको छलफलबारे जानकारी गराएकाे बताइएकाे छ।  

असार १९, २०७८ शनिबार १९:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।