म सम्पर्कविहीन भए भनेर हल्ला चलाइएछ : माधव नेपाल
काठमाडौँ : एमाले नेता माधवकुमार नेपालले आफू सम्पर्कविहीन भएको भनेर हल्ला चलाएको दाबी गरेका छन्। एमाले अध्यक्ष केपी ओलीले सबै माग पुरा गरे पनि नेपाल पार्टी एकताको पक्षमा छैनन् भनेर दुष्प्रचार गरिएको भन्दै नेपालले एमालेको संरचना अझै जेठ २ को अवस्थामा नफर्किएको बताए।
एमाले केन्द्रीय कमिटीको बैठकले सोमबारसम्ममा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन समयसिमा दिँदै फिर्ता नलिए पार्टी एक नहुने चेतावनी दिएपछि नेपालले शनिवार हस्ताक्षरकर्ता निवर्तमान सांसदहरूसँग जुम मिटिङ गरेका थिए।
मिटिङमा उनले सांसदहरूको राय मागेका थिए। बैठकमा सहभागी स्रोतका अनुसार अदालतमा बहस भइरहेको विषयमा हस्ताक्षर फिर्ता लिन नहुने तर अदालतबाट जे आदेश आए पनि स्वीकार गर्नुपर्ने सुझाव दिएका थिए।
प्रधानमन्त्री समेत रहेका ओलीले झुक्याउने मात्र गरेको, आफू प्रतिकुल अवस्था आए लचिलो देखिए पनि समस्या सुल्झिएसँगै पुरानै चरित्रमा फर्कने गरेकाले जेठ २ को अवस्थामा पार्टी नफर्किएसम्म एकता हुन नसक्ने तर्क माधव निकट निवर्तमान सांसदहरूको थियो।
अहिले भइरहेको पार्टीको केन्द्रीय कमिटीको बैठक रोकेर पार्टी एकका लागि बनेको कार्यदललाई अगाडि बढाउन समेत उनीहरूले नेपाललाई सुझाव दिएका थिए।
जुम बैठकमा नेपालले आफूलाई पार्टी एक गर्नै नचाहने पात्रको रूपमा पुष्टि गर्न ओली समूहले दुष्प्रचार गरिरहेको भन्दै अन्तिम समयसम्म पार्टी एक गराउन पहल गरिरहने बताएको बैठक स्रोतले बतायो।
असार १९, २०७८ शनिबार १७:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।