चीनबाट ल्याइने कोरोनाविरुद्धको खोपमा पाकाे उमेरका व्यक्तिलाई प्राथमिकता दिइने
काठमाडौं : यही असार २४ गतेदेखि चीनबाट ल्याइन लागिएको कोरोना भाइरसविरुद्धको भेरोसेल खोपमा पाकाे उमेरका व्यक्तिलाई प्राथमिकता दिइने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले चीनबाट ल्याइन लागिएको खोप माथिल्लोदेखि तल्लो उमेर समूह सम्मका व्यक्तिलाई क्रमशः लगाइने जानकारी दिए।
उनले भने, ‘माथिल्लाेदेखि तल्लाे उमेर समूहका व्यक्तिलाई क्रमशः खाेप लगाइने छ। ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई खोप लगाइसक्ने योजना छ।’
खोप लगाउन छुटेका फ्रन्टलाइनर तथा स्वास्थ्यकर्मीलाई पनि खोप लगाउने योजना रहेको मन्त्रालयले जनाएको छ। यद्यपि, यसबारे निर्णय भइनसकेको प्रवक्ता पौडेलले बताए। यस्तै, दीर्घ रोगीको विषयमा भने थप निर्णय भइनसकेको उनले बताए।
मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै चीनको बेइजिङस्थित साइनोफार्म कम्पनीसँग खोप खरिदको लागि सम्झौता भएको र उक्त खोप असार २४ गतेबाट आपूर्ति हुने बताइसकेको छ। यद्यपि, खोपको परिणामबारे मन्त्रालयले केही बताएको छैन।
यसबारे मन्त्रालयका प्रवक्ता डा. पौडेलसँग जिज्ञासा राख्दा उनले आफूलाई थाहा नभएकाे बताए। ‘साँच्चै भन्न मिल्ने प्लेनमा अट्न जति हो। त्यही भएर ठ्याक्कै थाहा छैन,’ उनले भने।
असार १९, २०७८ शनिबार १७:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।