कांग्रेस क्रियाशील सदस्य विवाद : प्रक्रिया पूरा भएर आएकाको नाम समावेश गर्ने सहमति
काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरणमा देखिएको विवाद समाधान हुने भएको छ।
सदस्यताका लागि प्रक्रिया पूरा भएर आएका नाम समावेश गर्ने सहमति जुटेसँगै विवाद समाधान हुने भएको हो।
शुक्रबार बसेको पार्टी पदाधिकारी बैठकले नवीकरण हुने क्रियाशील सदस्य र नयाँ सदस्यको छनोटको प्रक्रिया हेरी छानबिन समितिले निर्णय गर्न सक्ने गरी मापदण्ड बनाउने निर्णय गरेको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समिति सदस्य तथा कांग्रेस केन्द्रीय सदस्य जीवन परियारले उकेरालाई जानकारी दिए।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले क्रियाशील सदस्य छनोटमा पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी नाम सिफारिस गरेको भन्दै विरोध जनाउँदै आएको थियो। वरिष्ठ नेता पौडेल पक्षले सदस्यताबारे निष्पक्ष छानबिनको माग गर्दै आएको थियो।
महाधिवेशनमा प्रारम्भिक मतदाताका रूपमा मानिने क्रियाशील सदस्यताको विवादका कारण पटकपटक कार्यतालिका समेत संशोधन गर्नुपरेका थियो। सहमति अनुसार देशभरबाट गरेर आएको क्रियाशील सदस्यको नामलाई समावेश गर्ने सहमति जुटेको कांग्रेसले जनाएको छ।
‘मापदण्डमा सहमति जुटेको छ। अब लगभग टुंगो लागेको छ। भोलि १२ बजेसम्म सबै नामलाई लिपिबद्ध गर्ने र मापदण्ड टुंगो लगाउने सहमति जुटेको छ,‘ छानविन समिति सदस्य परियारले उकेरासँग भने, ‘भोलि (शनिबार) केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका सदस्य रमेश लेखक र नेता कृष्ण शिटौला मिलेर सहमति अनुसारको मापदण्ड बनाउनु हुनेछ।’
मापदण्ड तयार भएपछि नवीकरण हुने क्रियाशील सदस्य र नयाँ सदस्यको छनोटको प्रक्रिया हेरी छानबिन समितिले निर्णय गर्न परियारले जानकारी दिए।
असार १८, २०७८ शुक्रबार २२:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।