बिपी प्रतिष्ठानकाे आन्दाेलनबारे सत्यतथ्य बुझ्न उच्चस्तरीय छानबिन समिति गठन गर्न माग 

बिपी प्रतिष्ठानकाे आन्दाेलनबारे सत्यतथ्य बुझ्न उच्चस्तरीय छानबिन समिति गठन गर्न माग 

काठमाडौं : नेपाल चिकित्सक संघले सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आन्दोलनबारे अउच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरेको छ। 

संघले आज विज्ञप्ति जारी गर्दै प्रतिष्ठान आन्दोलनबारे सत्यतथ्य छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेको हो। साथै संघले प्रतिष्ठानमा आन्दोलित चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीका समस्या वार्तामार्फत समाधान गर्न पनि सरकारसँग माग गरेको छ। 

‘चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका क्षेत्रमा अतुलनीय योगदान पुर्याउँदै आएको त्यस प्रतिष्ठानमा कार्यरत सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी एवं कर्मचारीे लामो समयसम्म आन्दोलित भइरहँदासमेत सम्बन्धित सरोकारवाला निकायबाट वार्ता र संवादको वातावरण सिर्जना गरी उत्पन्न समस्याको समाधानतर्फ कुनै पनि पहल नगरिएको घटनाले समग्र राष्ट्रकै प्रतिष्ठामा आँच आएको नेपाल चिकित्सक संघको ठहर छ,’ संघका महासचिव डा. बद्री रिजालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले नेपाल सरकारले सत्यतथ्य छानबिन गर्नका लागि अविलम्ब उच्चस्तरीय छानबिन समिति गठन गरी वार्तामार्फत उत्पन्न समस्याको समाधान गर्न नेपाल चिकित्सक संघ नेपाल सरकारसमक्ष माग गर्दछ।’ 

संघले प्रतिष्ठानमा कार्यरत सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी एवं कर्मचारीले उठाएका जायज मागलाई यथाशीघ्र सम्बोधन गरी बिनाकुनै अवरोध शान्तिपूर्ण वातावरणमा चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवाप्रवाहलाई निरन्तरता दिने वातावरण सिर्जना गर्न अनुरोध गरेको छ। 

प्रतिष्ठानका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी विभिन्न माग राखी विगत १८ दिनदेखि आन्दोलनमा छन्। आन्दोलनकारीले प्रतिष्ठानमा भ्रष्टाचारसमेत भएको आरोपसमेत लगाएका छन्। 

असार १८, २०७८ शुक्रबार २०:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।