देशभर थप २२९९ जनामा कोरोना संक्रमण, ३४ जनाको मृत्यु
काठमाडौं : देशभर थप २ हजार २ सय ९९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पिसिआर विधिबाट १ हजार ३ सय ९१ र एन्टिजेन विधिबाट ९ सय ८ जनामा कोरोना पोजेटिभ देखिएको हो।
उक्त अवधिमा आरटी पिसिआर विधिबाट ६ हजार ५ सय ६६ र एन्टिजेन विधिबाट ४ हजार ३० जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
देशभर हालसम्म आरटी पिसिआर विधिबाट कोरोना संक्रमण हुनेको संख्या ६ लाख ४२ हजार ५३ पुगेको छ। एन्टिजेन विधिबाट कोरोना पोजेटिभ देखिएकाको संख्या ३६ हजार ७ सय ५५ छ।
पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४ सय ५१ जना संक्रमणमुक्त भएका छन्। यससँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ३ हजार ६ सय पुगेको मन्त्रालयले जनाएको छ। देशभर कोरोनाको निको हुने दर ९४ प्रतिशत छ।
मन्त्रालयका अनुसार देशभर कोरोना संक्रमणका कारण थप ३४ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार १ सय ७९ पुगेको मन्त्रालयले जनाएको छ।
असार १८, २०७८ शुक्रबार १७:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।