फ्रन्टलाइनरको सम्मानमा बनाइएको भित्तेचित्र मेटाउनु कला र कलाकारको अपमान : कांग्रेस
काठमाडौं : नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड-१९) संक्रमणको महामारीमा अग्रपंक्तिमा खटिएका (फ्रन्टलाइनर)को सम्मानमा बनाइएको भित्तेचित्र मेटाइएपछि विरोध जनाएको छ।
काठमाडौं महानगरपालिकाले भित्तेचित्र मेटाएपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गर्दै उक्त कदमले कला र कलाकारको अपमान भएको बताएका छन्। साथै उनले उक्त कदम निन्दनीय भएको जनाएका छन्।
कांग्रेसले जारी गरेको विज्ञप्ति अनुसार साँगे थिन्ले लामा, किपा शेर्पा, सुमिना श्रेष्ठ लगायतले फ्रन्टलाइनमा जुधिरहेका स्वास्थ्यकर्मी, सफाइकर्मी, प्रहरी, पत्रकार र शव व्यवस्थापनमा खटिएका योद्धाको सामूहिक चित्र काठमाडौंको एक पर्खालमा बनाएका थिए।
‘युवा डुजाङ शेर्पाको परिकल्पना र स्थानीय वडा कार्यालयको लिखित अनुमतिमा एक साता लगाएर निर्माण गरिएको चित्र एकाएक नष्ट गरिनुबाट कला र कलाकारको समेत अपमान भएको छ,’ विज्ञप्तिमा भनिएको छ।
भित्तेचित्रले सहर कुरूप देखिएको भन्दै मेटाइएको महानगरपालिकाले जनाएको छ।
असार १८, २०७८ शुक्रबार १६:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।