ओलीले माधव समूहलाई हस्ताक्षर फिर्ताको म्याद जारी गरे : सोमबार साँझ ५ बजेभित्र फिर्ता नभए पार्टी विभाजित

ओलीले  माधव समूहलाई  हस्ताक्षर फिर्ताको म्याद जारी गरे  : सोमबार साँझ ५ बजेभित्र फिर्ता नभए पार्टी विभाजित

काठमाडौँ : शुक्रवार एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता गर्न माधव नेपाल समूहलाई म्याद तोके सोमबार बेलुका।

पार्टीको केन्द्रीय कमिटीको बैठकले २ दिनभित्र काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन निर्देशन दिने निर्णयसँगै प्रधानमन्त्री समेत रहेका ओलीले बैठकमा सोमबार साँझ पाँच बजेसम्ममा हस्ताक्षर फिर्ता नलिए पार्टी एकता नहुने चेतावनी दिए।

देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चमा परेकी एक सय ४६ सांसदको हस्ताक्षरमा एमालेका २३ जना निवर्तमान सांसदहरूले हस्ताक्षर छ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा संसद् विघटन र देउवालाई प्रधानमन्त्री नियुक्त नगरेकोबारे बहस जारी छ।

बहसमा उत्रिएका प्रधानमन्त्री पक्षधर बहसकर्ताको तर्क कमजोर देखिएपछि ओलीले सर्वोच्चबाट मुद्दा किनारा लाग्नु अगाडि नै नेपाल समूहलाई हस्ताक्षर फिर्ता गराएर मुद्दा कमजोर बनाउने रणनीति लिएका हुन्। शुक्रवार आयोजित पार्टी बैठकमा नेपाल समूहका नेताहरू सहभागी छैनन्।

ओलीले बैठकमा हस्ताक्षर फिर्ता लिने मिति र समय नै तोकिदिए।

 उनले बैठकमा भने 'सोमबार साँझ ५ बजेसम्म हस्ताक्षर फिर्ता भएन भने पार्टी एकता हुन्न। काँग्रेसका नेतालाई प्रधानमन्त्री बनाउने छुट एमालेका सदस्यलाई छैन।’

उनले यदि तोकिएको समयभित्र हस्ताक्षर फिर्ता नभए त्यो पार्टी फुटेको घोषणा हुने भन्दै चेतावनी दिए।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता प्रदीप ज्ञवालीले आफ्नै पार्टीका अध्यक्ष प्रधानमन्त्री भएको वर्तमान सरकारलाई हटाएर विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाइयोस् भनेर हस्ताक्षरसहित राष्ट्रपति समक्ष पुग्नु र त्यसमध्ये केही एमालेका सांसद मुद्दाको पक्ष बनेर सर्वोच्च अदालतसम्म जानु मुलुकको संविधान, लोकतान्त्रिक प्रणाली, पार्टी विधान, राष्ट्र र जनताको चाहना सबैको विपरीत रहेका विषय रहेको बताए।

उनले भने' त्यो हस्ताक्षरलाई सोमबार साँझ ५ बजेसम्म फिर्ता लिएर एकतामा योगदान गर्न आह्वान गरेका छौँ।’

असार १८, २०७८ शुक्रबार १६:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।