गिरिजाप्रसादलाई नराम्रो व्यवहार हुँदा उत्पात मच्चिएको सम्झाउँदै ओलीले भने, तर हामी प्रतिवाद गर्न सकिरहेका छैनौ

गिरिजाप्रसादलाई नराम्रो व्यवहार हुँदा उत्पात मच्चिएको सम्झाउँदै ओलीले भने, तर हामी प्रतिवाद गर्न सकिरहेका छैनौ

काठमाडौँ : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको शीर्ष नेतृत्व विरुद्ध स्तरहीन आरोप लाग्दा समेत प्रतिवाद नभएको भन्दै असन्तुष्टि जनाएका छन्।

विपक्षी गठबन्धनका विद्यार्थी सङ्गठनले निरन्तर राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन गरिरहँदा पनि कुनै प्रतिवाद नभएको भन्दै उनले एमालेको केन्द्रीय कमिटीको बैठकमा भने ‘हामी कुनै प्रतिवाद गर्न सक्दैनौ र गरिरहेका छैनौ।’

उनले कोरोनाबाट लडिरहेका बेला आन्दोलन गरेर निकृष्ट तवरले दलहरू प्रस्तुत भएको समेत आरोप लगाए। अनुशासन तोड्नुलाई बहादुरी ठान्ने प्रवृत्ति बढेको भन्दै यस्तो हुँदा पनि पार्टीका नेता कार्यकर्ताले प्रतिवाद नगरेको गुनासो गरे।

राष्ट्रपति जस्तो सम्मानित संस्थाको अपमान हुँदा पनि आफ्ना सङ्गठन चुप बसेको भन्दै उनले असन्तुष्टि जनाए।

विगतमा गिरिजाप्रसाद कोइरालालाई राम्रो व्यवहार नहुँदा काठमाडौँमा तोडफोड र उत्पात मच्चिएको उल्लेख गरे। केन्द्रीय कमिटीको बैठकमा ओलीले भने, ‘एक पटक गिरिजाप्रसाद कोइरालालाई भिआइपीमा के ट्रिट हुन सकेन भनेर नेपाली काँग्रेसका तरुण दल, नेविसंघ सबै उत्रिएर तोडफोड गरेर काठमाडौँमा उत्पात मच्चाए। किन भन्दा गिरिजाप्रसादसँग राम्रो व्यवहार भएन भनेर।’ उनले भने‘तर, हाम्रोमा चाही संवेदनशीलता होइन सहिष्णुता मात्रै छ।झन्डै झन्डै हामी कुनै प्रतिवाद पनि गर्न सक्दैनौ। प्रतिवाद पनि गरिरहेका छैनौ।’

ओलीले आफ्नो पार्टीको सरकार ढालेर विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन अराजनीतिक क्रियाकलाप सुरु भएको बताए। उनले सरकार ढाल्ने र बनाउने खेलमा मुलुकलाई अनुशासनहीन, उच्छृङ्खल, सामाजिक सम्भ्यता, मर्यादालाई तोड्ने प्रवृत्ति हाबी भएको बताए।

ओलीले राजनीतिक मुद्दालाई अदालत तिर पठाइएको भन्दै अदालतलाई दबाब दिने प्रयास भइरहेको आरोप लगाए। प्रधानमन्त्री ओलीले हजारौँ प्रयासका बाबजुद पार्टीलाई एक हुन नदिने खेल भइरहेको बताए।

असार १८, २०७८ शुक्रबार १५:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।