ओलीले गिरिजाप्रसादलाई नराम्रो व्यवहार हुँदा उत्पात भएको सम्झँदै भने, ‘हामी प्रतिवाद गर्न सकिरहेका छैनौं’

ओलीले गिरिजाप्रसादलाई नराम्रो व्यवहार हुँदा उत्पात भएको सम्झँदै भने, ‘हामी प्रतिवाद गर्न सकिरहेका छैनौं’

काठमाडौं : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छाडा स्तरहीन प्रवृत्तिको प्रतिवाद नभएको गुनासो गरेका छन्। 

विपक्षी गठबन्धनका विद्यार्थी संगठनले निरन्तर पुतला दहन गरिरहेको तर्फ संकेत गर्दै ओलीले भने, ‘हामी कुनै प्रतिवाद गर्न सक्दैनौं र गरिरहेका छैनौं।’ 

उनले कोरोनाबाट लडिरहेका बेला दलहरूले आन्दोलन गरेर निकृष्ट तवरले प्रस्तुत भएको बताए। ओलीले अनुशासन तोड्नुलाई बहादुरी ठान्ने प्रवृत्ति बढेको भन्दै पार्टीका नेता कार्यकर्ताले प्रतिवाद नगरेको गुनासो गरे। 

उनले विगतमा गिरिजाप्रसाद कोइरालालाई राम्रो व्यवहार नहुँदा काठमाडौंमा तोडफोड र उत्पात मच्चिएको उल्लेख गरे।

केन्द्रीय कमिटीको बैठकमा ओलीले भने, ‘एक पटक गिरिजाप्रसाद कोइरालालाई भिआइपीमा के ट्रिट हुन सकेन भनेर नेपाली कांग्रेसका तरुण दल, नेविसंघ सबै उत्रिएर तोडफोड गरेर काठमाडौंमा उत्पात मच्चाए। किन भन्दा गिरिजाप्रसादसँग राम्रो व्यवहार भएन भनेर।’ उनले आफ्नो नेताप्रति राजनीतिक दल त्यति संवेदनशील हुने स्मरण गराए। 

‘तर, हाम्रोमा चाहिँ संवेदनशीलता होइन, सहिष्णुता मात्रै छ,’ ओलीले भने, ‘झन्डै झन्डै हामी कुनै प्रतिवाद पनि गर्न सक्दैनौं। प्रतिवाद पनि गरिरहेका छैनौं।’

ओलीले आफ्नो पार्टीको सरकार ढालेर विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन अराजनीतिक क्रियाकलाप सुरु भएको बताए। उनले सरकार ढाल्ने र बनाउने खेलमा मुलुकलाई अनुशासनहीन, उच्छृङ्खल, सामाजिक सम्भयता, मयार्दालाई तोड्ने प्रवृत्ति हाबी भएको बताए। 

ओलीले राजनीतिक मुद्दालाई अदालततिर पठाइएको भन्दै अदालतलाई दबाब दिने प्रयास भइरहेको आरोप लगाए। प्रधानमन्त्री ओलीले हजारौं प्रयासका बाबजुद पार्टीलाई एक हुन नदिने खेल भइरहेको बताए।

असार १८, २०७८ शुक्रबार १५:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।