कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रजिस्टार नियुक्तिविरुद्ध सर्वाेच्चमा रिट दायर
काठमाडौं : जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रजिस्टार नियुक्तिविरुद्ध सर्वाेच्चमा रिट दायर भएको छ।
काठमाडौं, नागार्जुन नगरपालिका–२, बस्ने अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले प्रतिष्ठानमा रजिष्टार नियुक्ति असंवैधानिक रहेको भन्दै आज सर्वाेच्चमा रिट दर्ता गरेका हुन्।
रिटमा यही असार ३ गते रजिस्टार नियुक्त नृपेन्द्र महतलाई काम नगर्नु, गर्न नदिनु, नगराउनू आदेश जारी गरिदिन माग गरिएको छ।
‘हाल सो संस्थाको (कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान) रजिस्टार पदमा नियुक्त भएका नृपेन्द्र महत एमाले भ्रातृ संस्था युवा संघका उपाध्यक्ष हुनुहुन्छ। यसरी हालसम्म राजनीति गर्नुभएका नृपेन्द्र महतको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ऐन २०६८ को दफा २२ र स्वास्थ्य मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड २०७३ को दफा ४ (ञ) (२) विपरीत रहेको छ,’ रिट निवेदनमा भनिएको छ।
रिट निवेदनमा विपक्षीको कार्यबाट नेपालको संविधानको धारा १६ मा रहेको सम्मानपूर्वक बाँच्न पाउने हक, धारा १८ मा रहेको समानताको हक, धारा २९ मा रहेको शोषण विरुद्धको हक, धारा ३३ मा रहेको रोजगारीको हक, धारा ३४ मा रहेको श्रमको हक लगायतका हक हनन भएको दाबी गरिएको छ।
असार १८, २०७८ शुक्रबार १४:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।