एमाले बैठकमा सहभागी बामदेवलाई ओलीको कटाक्ष : अब फेरि आयो,गयो नहोस्
काठमाडौँ : दशौँ महाधिवेशन आयोजक कमिटी विघटन गरेपछि बसेको एमालेको केन्द्रीय कमिटीको बैठक सहभागी बामदेव गौतमलाई प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले कटाक्ष गर्दै भने 'लामो समयपछि बैठकमा आउनुभएका उपाध्यक्ष कमरेडलाई स्वागत छ।'
उनले गौतमलाई स्वागत गर्दै भने 'अब फेरि यो आयो गयो नहोस्।'
नेकपाहुँदै एमाले ब्युँतिएसँगै एमालेमा विवाद बढेपछि गौतम दुवै समूहका बैठकमा सहभागी थिएनन्। उनी शुक्रवारको बैठकमा भने सहभागी भएका थिए। उनले व्यक्ति भन्दा पनि विचारलाई समर्थन गर्ने दाबी गरेका थिए। उनी एमाले उपाध्यक्ष हुन्।
उनले बैठकमा केन्द्रीय कमिटी ब्युँतिएपछि आफू पार्टी अध्यक्ष ओलीको पक्षमा रहेको भए पनि माधव नेपाल समूहलाई छाडेर अगाडि बढ्न नसकिने धारणा राखेको बैठकमा सहभागी स्रोतले बतायो। उनले मुख्य नेतालाई सम्मानजनक व्यवहार नगरिए पार्टीको तल्लो पति भड्किने जोखिम रहेको विश्लेषण समेत गरेका थिए। उनले नेपाल सहितको एकतामा जोड दिएका थिए।
देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नु हुँदैनथ्यो
बैठकमा उनले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेपाल समूहले गरेको हस्ताक्षरको भने विरोध गरे। उनले त्यसलाई अनैतिक काम भनेका थिए। पार्टीमा बसेर अर्को दलको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नु नैतिक काम नभएको भन्दै उनले आफूले हस्ताक्षर गरेको भए पहिला पार्टीबाट राजीनामा दिएर मात्र हस्ताक्षर गर्ने दाबी गरेका थिए।
असार १८, २०७८ शुक्रबार १४:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।