बीपी प्रतिष्ठानका चार शीर्ष पदाधिकारीलाई बर्खास्त गर्न डा. केसीको माग
काठमाडौँ : चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धराशायी हुने अवस्थामा पुगेको बताएका छन्।
उनले प्रतिष्ठानका उपकुलपति सहित चार पदाधिकारीलाई बर्खास्त गर्न माग गरेका छन्।
केसीले विज्ञप्ति निकाले धरानस्थित प्रतिष्ठानको नजिकै खुलेका निजी मेडिकल कलेज र अस्पतालहरूका स्वार्थका लागि प्रतिष्ठान डुबाउन स्वयम् प्रधानमन्त्री र स्वास्थ्य मन्त्री लागेको उल्लेख गरेका छन्।
यो अवस्थामा प्रतिष्ठानमा सुधारका लागि चिकित्सक, विद्यार्थी र कर्मचारीहरू आन्दोलनरत रहेको भन्दै डा. केसीले लेखेका छन्,‘ओली सरकारले देश जसरी चलाइरहेको छ, बिपी प्रतिष्ठानका पदाधिकारीले पनि संस्थालाई उसरी नै चलाएर बरबादीतिर धकेलिरहेका छन्।’
उनले बिपी प्रतिष्ठानका चारै शीर्ष पदाधिकारीहरूले थप एक मिनेट पनि पदमा रहने नैतिकता र वैधता गुमाइसकेको उल्लेख गरेका छन्। तत्काल पद खाली गर्नुपर्ने र पदाधिकारी मापदण्ड निर्धारण समितिले सुझाव दिए अनुसार दलीय वफादारिता नभई वरिष्ठता, इमानदारी र योग्यताका वस्तुगत आधारमा नयाँ पदाधिकारी नियुक्त गरिनुपर्ने माग गरेका छन्।
उनले बिपी प्रतिष्ठान बचाउन उचित कदम नचाले तथा असंवैधानिक संसद् विघटन नसच्याइएमा सत्याग्रहसहित आन्दोलनका कडा कार्यक्रमहरू ल्याउने चेतावनी दिएका छन्।
असार १८, २०७८ शुक्रबार १२:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।