माधव नेपाल ओलीको सम्पर्क बाहिर, केन्द्रीय कमिटी बैठकमा बामदेव सहभागी

माधव नेपाल ओलीको सम्पर्क बाहिर, केन्द्रीय कमिटी बैठकमा बामदेव सहभागी

काठमाडौँ : नेकपा एमालेभित्रको विवाद मिलाउन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबिच छलफलको तयारी असफल भएको छ। 

अध्यक्ष ओलीले नेपाललाई वार्तामा बोलाएको तर, नेपाल सम्पर्कमा नआउनु भएको एमाले नेता सुभाषचन्द्र नेम्वाङले बताए। ‘आज कुराकानी गर्ने भनिएको थियो,’उनले उकेरासँग भने,‘खोइ उहाँ (नेपाल) सम्पर्कमै आउनु भएको छैन।’

ओलीलाई नेपालले आज बिहान छलफल गरेर जवाफ दिने बताए पनि नेपाल पक्षबिच छलफल भएन। ‘हाम्रो हिजोकै निर्णय हो,’ नेपाल पक्षका नेता गोकर्ण विष्टले भने,‘आज बिहान छलफल भएन।’

एमाले विवाद मिलाउन गठित कार्यदलले अनौपचारिक छलफल गरे पनि माधव नेपाल सम्पर्कमा नआएपछि ओली पक्षीय कार्यदलका सदस्य केन्द्रीय कमिटी बैठकका लागि बालुवाटार पुगेका छन्। 

बिहान ११ बजे बस्ने भनिएको बैठक अब सुरु हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। उनका अनुसार पदीय मर्यादा नै तोकेर पत्र पठाए पनि बामदेव गौतम बाहेक नेपाल पक्षका कोही पनि बैठकमा सहभागी नभएको बताए। 

उनले एक दुई दिनमा नेपाल पक्ष पनि पार्टी एकतामा आउने बताए। ‘आज आउनु भएन भने भोलि आउनु होला,’सचिव तामाङले भने,‘नआई सुखै छैन, आउनुहुन्छ।’ 

एमालेको दसौँ आयोजक कमिटी भङ्ग गरेर केन्द्रीय कमिटीमा रूपान्तरण गरेपछि आज पहिलो बैठक बस्न लागेको हो। 

असार १८, २०७८ शुक्रबार १२:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।