बाढी पहिरोले देशभरका विभिन्न सडक अवरुद्ध

बाढी पहिरोले देशभरका विभिन्न सडक अवरुद्ध

काठमाडौं : लगातार परेको वर्षाले बाढी पहिरो जाँदा देशभरका विभिन्न सडक अवरुद्ध भएका छन्।

बाढी पहिरोले पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग, अरनिको राजमार्ग, राप्ती राजमार्ग, मध्य पहाडी राजमार्ग, महेन्द्र राजमार्ग र मदन भण्डारी राजमार्गका ठाउँ ठाउँमा पहिरो गएर सडक अवरुद्ध भएको सडक विभागले जनाएको छ। 

चितवनको चार किलो र पाँच किलोमा पहिरो जाँदा मुस्लिन–नारायणघाट सडकखण्ड अवरुद्ध भएको छ। यस्तै डुम्रे बेशीशहर चामे, साँफेबगर मार्तडी कोल्टी, कर्णाली, खोड्पे–चैनपुर, स्याफ्रुबेशी रसुवागढी सडक पनि अवरुद्ध भएका छन्।

आबुखैरेनी–गोरखा–घयाम्पेसा र आरुघाट–सिर्दिवास–रोइला भन्ज्याङ सडकखण्डका विभिन्न ठाउँमा पहिरो गएर अवरुद्ध भएको विभागले जनाएको छ। 

विभागका अनुसार ५२ वटा राष्ट्रिय राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएका छन् भने २७ वटा सडकमा अवरोध आएको छैन। पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको विभागले जनाएको छ। 

असार १८, २०७८ शुक्रबार ०९:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।