केन्द्रीय कमिटी बैठकमा नेपाल पक्ष नआए दुर्भाग्य हुन्छ : सचिव तामाङ

केन्द्रीय कमिटी बैठकमा नेपाल पक्ष नआए दुर्भाग्य हुन्छ : सचिव तामाङ
फाइल तस्बिर

काठमाडौं : नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बिहान ११ बजे बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा पार्टी एकताको विषयमा छलफल हुने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। 

पार्टी एकताका लागि असहमत पक्षलाई २०७५ जेठ २ कै पद तोकेर पत्र पठाएको सचिव तामाङले बताए। ‘पहिला उहाँहरू(माधवकुमार नेपाल पक्ष) को जुन पद थियो, त्यही पद तोकेर निम्तो गरेका छौँ,’उनले उकेरासँग भने,‘आउनु भएन भने त्यो दुर्भाग्य हुन्छ।’ असहमत पक्षको माग अनुसार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले लचकता अपनाएको तामाङले बताए। 

उनले केन्द्रीय कमिटी बैठकमा निम्तो गर्दा नआए के गर्ने भनेर छलफल हुने जानकारी दिए। एमालेको दसौँ महाधिवेशन आयोजक कमिटीको बैठकले आयोजक कमिटी भङ्ग गरेर केन्द्रीय कमिटीमा रूपान्तरण गर्ने निर्णय गरेको थियो। भङ्ग भएको आयोजक कमिटीको निर्णय अनुसार आज शुक्रबार एमाले केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो। 

पुरानै संरचनामा फर्काएको बताए पनि केन्द्रीय कमिटीमा पूर्व माओवादीका २० जनालाई केन्द्रीय सदस्य बनाइएको छ। यसमा माधव नेपाल समूहले आपत्ति जनाएको छ।

नेपाल समूहले यथास्थितिमा बोलाइएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय नै गरेको छ। पार्टीको विधि विधान विपरीत महाधिवेशन आयोजक कमिटीले बोलाएको बैठक नै अवैध रहेको नेपाल पक्षले बताएको छ। 

असार १८, २०७८ शुक्रबार ०८:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।