उपत्यकामा यात्रुसँग बढी भाडा असुलेको आरोपमा ८ जना पक्राउ
काठमाडौं : काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट यात्रुसँग बढी भाडा असुलेको आरोपमा आठ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा टिकट काउन्टरका कर्मचारीदेखि निजी सवारी साधनका चालकसम्म रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार यात्रुसँग बढी भाडा लिई ठगी गरेको आरोपमा प्र१–०१–००१ज३४९२ नम्बरको बोलेरो जीप चालक झापाका ३८ वर्षीय पुण्यप्रसाद गिरी, बा२०च२४२ नम्बरको निजी स्कर्पियो चालक गोर्खा, च्याङ्लीका ३८ वर्षीय सन्तबहादुर कुमाल र मे१ज २९९३ नम्बरको बोलेरो जीप चालक इलामका २६ वर्षीय खेमबहादुर पाँचकोटी कोटेश्वरबाट पक्राउ परेका छन्।
यस्तै, कलंकीबाट बा१४च ४२८६ नम्बरको गाडी चालक कञ्चनपुरका अम्मर ऐर, बा६च २१४९ नम्बरको स्कर्पियो चालक भक्तपुरका ३७ वर्षीय श्याम मछ्या र मित्रपार्कबाट को२च २५८२ नम्बरको मारुती भ्यान चालक धनकुटाका ३९ वर्षीय हरेन्द्र बुढाथोकी छन्।
यसैगरी, ललितपुर, बालकुमारीबाट सप्तकोसी हाइस काउण्टरमा काम गर्ने झापाका २८ वर्षीय संजय खड्का पक्राउ परेका छन्। साथै बा१७च ५००१ नम्बरको स्कर्पियोमा प्रयोजनविपरीत भाडामा यात्रु बोकेको अवस्थामा भक्तपुर बस्ने ४६ वर्षीय राजीव हिंगजुलाई स्कर्पियोसहित नियन्त्रणमा लिइएको महाशाखाले जनाएको छ।
पक्राउ परेकालाई आवश्यक कारबाहीको लागि सम्बन्धित प्रहरी वृत्तमा बुझाइएको ट्राफिक महाशाखाले जनाएको छ। पक्राउ परेकाले यात्रुसँग तीन गुणा बढीसम्म भाडा असुलेको महाशाखाले जनाएको छ।
‘जारी निषेधाज्ञा खुकुलो हुन थालेसँगै यात्रु ठगिन र समस्या पर्न सक्ने कुरालाई मध्यनजर गरी अपरेसन टोली परिचालन गरेका छौं,’ महाशाखा प्रमुख एवं एसएसपी जनक भट्टराईले भने, ‘टोलीले यात्रु बनेर भाडा मोलमोलाई गर्ने, गोप्यरूपमा बुझ्ने, निगरानी गरी यात्रुसँग बढी भाडा लिएका व्यक्तिहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गर्ने गरेका छौं।’
ट्राफिक प्रहरीले निरन्तर अनुगमन एवं गोप्य निगरानी गरिरहेको र तोकिएभन्दा बढी भाडा लिएमा वा निजी गाडीले भाडामा यात्रु ओसारपसार गरेको पाइए नियन्त्रणमा लिई आवश्यक कारबाही गरिने एसएसपी भट्टराईले बताए।
ट्राफिक प्रहरीले यात्रुसँग बढी भाडा लिई ठगी गरेको आरोपमा हालसम्म ६९ जनालाई पक्राउ गरेको महाशाखाले जनाएको छ।
असार १७, २०७८ बिहीबार १९:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।