विपद् कोषमा पाँच अर्ब, राहत र पुनर्स्थापनाको काम अगाडि बढाउन गृहमन्त्रीको निर्देशन
काठमाडौँ : उपप्रधान तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न पूर्व तयारीका लागि निर्देशन दिएका छन्। उनले विपद् सम्बन्धी बैठकमा उद्धार, राहत र पुनर्स्थापनालाई उच्च प्राथमिकता राख्न निर्देशन दिएको उनको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ।
देशका विभिन्न ठाउँमा अतिवृष्टिबाट सिर्जित जोखिमलाई विशेष ध्यान दिएर आवश्यक तयारी गर्न निर्देशन दिएका थिए। पौडेलले राहत र उद्धारका लागि स्रोतको अभाव नहुने दाबी गरेका थिए। विपद्का घटना भएपछि के गर्ने भन्दा पनि पहिले नै कसरी घटनाहरूलाई न्यूनीकरण गर्न सकिन्छ भन्नेमा केन्द्रित हुन आग्रह गरे।
राहत र उद्धारका लागि अन्तर मन्त्रालय र विभिन्न निकायबिच समन्वय हुनु पर्नेमा जोड दिँदै उनले कोही छुट्ने र कोही दोहोरिने स्थिति सिर्जना नहुने वातावरण सिर्जना गर्न पनि आग्रह गरे।
पौडेलले अवरुद्ध भएका सडकलाई सञ्चालनदेखि पुनर्स्थापना र पुनर्निर्माणका लागि समय तालिका बनाएर काम गर्न निर्देशन दिएका थिए।
गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले कोषमा पाँच अर्ब भन्दा बढी रकम रहेकाले राहत र उद्धारमा स्रोतको कमी नहुने दाबी गरे।
उनले क्षति, उद्धार र राहतमा भएका कार्य, अवरुद्ध सेवा सञ्चालन, प्रभावकारी नतिजाका लागि गर्नुपर्ने कार्यहरू लगायतलाई समावेश गरेर एकीकृत योजना ल्याउने दाबी गरेका थिए।
बैठकमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बाढी पहिरो लगायतले पुर्याएको क्षति र नोक्सानीको यकिन विवरण र आर्थिक लागत निकाली पुनर्स्थापना र पुनर्निर्माणका कार्यहरू अघि बढाउने तयारी भएको दाबी गरे।
असार १७, २०७८ बिहीबार १८:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।