बिस दिन कैद र ४८ लाख जरिवानाका दोषी पक्राउ
काठमाडौँ : बैङ्किङ कसुरमा अदालतले दोषी ठहर गर्दै २० दिन कैद ४८ लाख जरिवाना सुनाएका दोषी करिब एक वर्षपछि पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सानुकाजी महतलाई पक्राउ गरेको हो। उच्च अदालत पाटनले उनलाई २०७७ पुस १४ र २०७७ माघ १८ मा उनलाई दोषी ठहर गरेको थियो।
रजनी मिश्र र महेश महर्जनको जाहेरीका आधारमा रामेछाप खाँडा खेतीका महतलाई २ वटा मुद्दामा १५ दिन कैद ३५ लाख रुपैयाँ जरिवाना र ५ दिन कैद र १३ लाख जरिवानाको फैसला गरेको थियो।
२० दिन कैद र ४८ लाख जरिवाना हुने ठहर भए पनि उनी पक्राउ परेका थिएनन्। उनीमाथि २०७६ मा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी जाहेरवालालाई ४८ लाख रुपैंया बराबरको चेक दिएका थिए। चेक बाउन्स भएपछि पीडितहरू उनी विरुद्ध अदालत पुगेका थिए।
उनलाई जोरपाटीबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको ब्युरोले जानकारी दिएको छ।
असार १७, २०७८ बिहीबार १७:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।