विपद् पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन, विपद् कोषमा पाँच अर्ब 

विपद् पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन, विपद् कोषमा पाँच अर्ब 

काठमाडौँ : उपप्रधान तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले विपदबाट हुन सक्ने सबै खालका क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न निर्देशन दिएका छन्।

साथै उद्धार, राहत र पुनर्स्थापनालाई उच्च प्राथमिकता दिएर काम गर्न मन्त्री पौडेलले भनेका छन्। 

गृह मन्त्रालयमा आज बसेको विपद् सम्बन्धी बैठकमा पौडेलले देशका विभिन्न ठाउँमा अतिवृष्टिबाट सिर्जित जोखिमलाई विशेष ध्यान दिएर आवश्यक तयारी गर्न भनेका हुन्।

उनले विपद्का कारण जोखिममा परेकालाई तत्काल उद्धार र राहत प्रदान गर्न सरकारले सम्भव भएका सबै प्रयास गर्ने बताए। 

राहत र उद्धारका लागि अन्तरमन्त्रालय र विभिन्न निकायबिच समन्वय हुनु पर्ने भन्दै मन्त्री पौडेलले कोही छुट्ने र कोही दोहोरिने स्थिति सिर्जना नहुने वातावरण बनाउन आग्रह गरे।  

उनले क्षति न्यूनीकरणका  लागि एकीकृत कार्य योजना ल्याउने तयारी भइरहेको जानकारी दिएका छन्। मन्त्री पौडेलले अवरुद्ध भएका सडक सञ्चालनदेखि पुनर्स्थापना र पुनर्निर्माणका लागि समय तालिका बनाएर काम गर्न निर्देशन पनि दिएका उनको निजी सचिवालयले जनाएको छ। 

गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले कोषमा पाँच अर्ब भन्दा बढी रकम रहेकाले राहत र उद्धारमा स्रोतको कमी नहुने बताए। उनले क्षति, उद्धार र राहतमा भएका कार्यहरू, अवरुद्ध सेवा सञ्चालन, प्रभावकारी नतिजाका लागि गर्नु पर्ने कार्यहरू लगायतलाई समावेश गरेर एकीकृत योजना ल्याउने बताए। 

बैठकमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बाढी पहिरो लगायतले  पुर्याएको क्षति र नोक्सानीको यकिन विवरण र आर्थिक लागत निकाली पुनर्स्थापना र पुनर्निर्माणका कार्यहरू अघि बढाउने तयारी भएको बताए। 

बैठकमा भौतिक पूर्वाधार तथा यातायात, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिचाइ, सङ्घीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रिय योजना आयोगका सचिव, सुरक्षा निकायका प्रमुखहरू लगायत सहभागी थिए। 

असार १७, २०७८ बिहीबार १४:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।